FLASH NEWS

एउटा काण्डको छानबिन गर्दैमा सरकार सफल हुँदैन: रवि लामिछाने


नेपाल आवाज ३० बैशाख २०८०, शनिबार २२:०५ मा प्रकाशित ११८३ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् ।


आज (शनिबार) काठमाण्डुको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरिएको बृहत आन्दोलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताएका छन् ।

उनले भूटानी शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताएका छन । उनले भने, ‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ ।

त्यतिधेरै पनि नलियौं होला । आशावादी हुनुपर्छ । धेरै काण्डहरु लाइनमा छन् । ती काण्डहरु पनि अनुसन्धान हुन् । अनि हेर्छौं’ सभापति लामिछानेले भने, ‘सरकारले यसलाई शुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनुभएन ।

अहिलेलाई विषयान्तर गर्न सकैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । नांगिसक्यो अब किन छेक्ने ।’ उनले सरकारले अन्य लाइनमा रहेको काण्डहरु अनुसन्धान अघि बढाउन रोकिन नहुने बताएका छन् ।

उनले कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरुले कसैले पनि विषयान्तर गर्न नहुने बताएका छन । उनले आफ्नो दलका लागि दोषीलाई बचाउने, छेक्ने र ढाट्ने नगर्न आग्रह गरेका छन् ।

सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्व गृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताउका छन् ।

उनले काण्डमा दोषी देखिएकाहरुलाई अनुसन्धानको दायरामा ल्याउन कसैलाई पनि छाड्न नहुने बताएका छन् ।