FLASH NEWS

रेशमलाल चौधरीले पाएनन् सफाइ, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर


नेपाल आवाज २ जेष्ठ २०८०, मंगलवार १९:४८ मा प्रकाशित १०१५ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ ।


सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशमलाल चौधरी जन्मकैदको सजाय काटिरहेका छन् ।

उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी रेशमलाल चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ । चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा बसेका उनी सामान्य अवस्थामा जेलमुक्त हुन अझै १४ वर्ष जेल सजाय काट्नुपर्ने हुन्छ । चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमै बस्नुपर्ने भएको छ ।

यो मुद्दामा जिल्ला अदालत कैलालीले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो । सर्वोच्चले उनलाई भने जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला अनुसार ३ वर्षमात्र कैद सजाय हुने ठहर गरेको छ ।

सर्वोच्चले यही घटनामा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । उच्च अदालत दिपायलले उनीहरुलाई जन्मकैद र ज्यान मार्ने उद्योगको आरोपमा ५/५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

सर्वोच्च अदालतले संक्षिप्त फैसलामा भनेको छ, ‘अरु प्रतिवादीहरुको हकमा अभियोग दावीबाट सफाई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।’

(तस्बिर फाइल )

हेर्नुहोस् सर्वोच्चको फैसला :