FLASH NEWS

माओवादी लडाकुहरूको शिविरमा अर्बौं भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही : प्रधानमन्त्री


नेपाल आवाज ४ जेष्ठ २०८०, बिहीबार १४:३० मा प्रकाशित १००९ पाठक संख्या

४ जेठ, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी लडाकुहरूको शिविरमा अर्बौं भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा छानबिन गर्न र दोषी देखिए आफैं जेल जान समेत तयार रहेको उनले बताएका छन् ।


संसदमा बिहीबार भएको प्रश्नोत्तरमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ८ हजार ४६० जना पूर्व लडाकुका नाममा राज्यकोषबाट अर्बौं रकम भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन गर्न तयार हो भनेर प्रश्न गरेका थिए ।

जवाफमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्नु आरोपका निम्ति आरोप मात्र भएको बताए ।

शान्ति सम्झौता भएर क्यान्टोनमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि भौतिक पूर्वाधार र रासनपानीको निम्ति भनेर राज्यबाट दिएको रकमको अडिट भएको उनले बताए ।

‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो’ उनले भने, ‘यसलाई राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं आश्चर्यमा परेको छु ।’

उनले राजनीतिक सहमति भए सबै घटनाको छानबिन गर्न आफू तयार रहेको समेत बताएका छन् ।

आफ्नो दलले चुनावी घोषणापत्रमै २०४८ सालदेखिकै सबै घटना, उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्ने भनेर लेखेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’

शान्ति सम्झौतालाई टुङ्गोमा पुर्याउने क्रममा राज्यकै उपस्थितिमा भएको सेना समायोजनको सवाललाई आज राजनीतिक प्रतिशोधका आधारमा विषय बनाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि समेत जनाकाए छन् ।