FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : जो अनुसन्धानको राडारमा देखिए तर तानिएनन्


नेपाल आवाज ८ जेष्ठ २०८०, सोमबार ०६:५७ मा प्रकाशित १५५५ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’लाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको तारिफ भइरहेको छ। राज्यका अंगहरू निष्प्रभावी भएको/बनाइएको भन्ने टिप्पणी भइरहेका बेला प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको साहसिक अनुसन्धानले कानुनी राज्यको आशा पलाएको छ।


एकातिर प्रहरी अनुसन्धानको तारिफ भइरहेको छ भने अर्कोतिर अनुसन्धानमा आशंका पनि व्यक्त गरिँदैछ। प्रहरी प्रतिवेदन तयार हुँदै गर्दा अनुसन्धानको राडारमा देखिएका सबै ‘भिआइपी’ भने समातिएका छैनन्। राडारमा देखिएका तर अनुसन्धानमा नतानिएकामध्येका एक भिआइपी हुन्, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा। यो प्रकरणका धेरै कोण थापासँग ठोक्किन्छन्। प्रहरी अनुसन्धान उनको सचिवालय र घरभित्र छिरेको छ तर थापा अनुसन्धानमा तानिएका छैनन्। उनी गृहमन्त्री हुँदा गिरोह सल्बलाएको थियो भने नीतिगत निर्णयसमेत त्यही बेला भएको थियो।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र छोरा प्रतीक संलग्न भएको प्रमाण पाइएको प्रहरीको दाबी छ।

थापाले आफू गृहमन्त्री हुँदा छोरा प्रतीकलाई स्वकीय सचिव राखेका थिए। भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरजसम्मको संलग्नता प्रहरीले भेट्टाएको छ। इन्द्रजित, निरज र प्रतीक तीनैजनाले गिरोहसँग करोडौं रूपैयाँ रकम बुझेको पाइएको स्रोत बताउँछ।

इन्द्रजितले पटकपटक गरी ५ करोड र प्रतीकले कम्तीमा १ करोड बुझेको पाइएको दाबी छ। संलग्नता पुष्टि हुने आधार भेट्टाएको प्रहरीले तीनैजनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान अगाडि बढाएको हो। इन्द्रजित पक्राउ परेका छन् भने प्रतीक र निरज फरार छन्।

पूर्वगृहमन्त्री थापासँग यो प्रकरण छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका बाबुछोराको संलग्नताले मात्र ठोक्किँदैन, उनी गृहमन्त्री हुँदा नै गिरोहले पैसा उठाउन थालेको थियो। थापाले मन्त्रिस्तरीय निर्णयबाट २०७६ जेठ ३० गते मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी अध्ययनसम्बन्धी कार्यदल बनाएका थिए। त्यही गिरोहका सदस्यहरूकै ‘डिजाइन’मा तयार भएको खुलासा भइसकेको छ। उक्त कार्यदल वास्तविक शरणार्थी समस्या समाधान गर्न नभई नक्कली शरणार्थी खडा गरेर पैसा उठाउने उद्देश्यले बनेको प्रस्ट भइसकेको छ।

यति हुँदा पनि थापा प्रहरी अनुसन्धानमा प्रत्यक्ष रूपमा नतानिनुले केही आशंका जन्माएको छ। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू भने थापा अनुसन्धानको दायराभन्दा बाहिर नरहेको दाबी गर्छन्। प्रहरी अधिकारीहरूका अनुसार थापा यो प्रकरणभन्दा बाहिर पनि छैनन् र उनी यो प्रकरणको सुरूवातदेखिका जानकार हुन्। ‘उहाँको संलग्नताबिना गिरोहले काम थाल्न असम्भव थियो। फेरि सचिवालय र घरभित्रकै सदस्य संलग्न देखिएपछि उहाँ बाहिर हुनुहुन्न भन्ने कुरा प्रस्ट छ। यसबारे उहाँलाई पनि थाहा छ,’ अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारी भन्छन्, ‘तर केही प्रमाणको अभावमा उहाँलाई पक्राउ गर्न नसकिएकोे हो। प्रमाणको कमजोर धरातलमा प्रहरीले पक्राउ नगरेको हो ।’ प्रहरी अधिकारीका अनुसार गिरोहका सदस्यले थापाकी पत्नी नैनकलासम्मले रकम बुझेको बयान दिएका छन्।

पन्थी नेतृत्वमा कार्यदल बन्दा प्रेमकुमार राई गृह सचिव (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख) थिए। मन्त्री थापाले प्रतिवेदन बुझेर राईलाई हस्तान्तरण गरेका थिए। राईले प्रतिवेदन स्थानीय प्रशासन शाखामा पठाइदिएका थिए र त्यसको केही समयमै उनले अवकाश प्राप्त गरेका थिए। प्रतिवेदन बुझ्दा नै सरकारबाट निवृत्तिभरण बुझिरहेका पन्थीलाई अन्यथा प्रतिवेदन भए निवृत्तिभरण नै जान सक्ने चेतावनी दिएको समेत राईले नागरिकलाई बताएका छन्।

प्रमुख आयुक्त राईलाई समेत कुनै न कुनै रूपमा यो मुद्दामा तान्न खोजेपछि उनले आफू यो प्रकरणमा संलग्न नरहेको बताउँदै आएका छन्। उनले पन्थी कार्यदल निर्माणमा पनि आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। अख्तियारमा आएको ठगीसम्बन्धी उजुरीका सन्दर्भमा उनले ठगी अख्तियारको क्षेत्राधिकारभित्र नरहेकाले उपत्यका अपराध अनुसन्धान वा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा जान सुझाएको जानकारीसमेत दिइसकेका छन्। प्रहरीका एक अधिकारीले राईमाथि पनि अनुसन्धान भइरहेको तर अहिलेसम्म बलियो प्रमाण फेला नपरेको बताए। ‘आशंका देखिएपछि अनुसन्धान स्वाभाविक रूपमा हुन्छ,’ ती अधिकारीले भने, ‘तर उहाँविरुद्ध त्यस्तो गम्भीर प्रमाण कुनै पनि फेला परेको छैन।’

यस्तै प्रहरी अनुसन्धान चलिरहेका बेला नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई गिरोहका सदस्यले करोडौं रकम दिएको भनिएको अडियो बाहिरिएको छ। आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी र मन्जु प्रहरी हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन्। आफ्नो नाम मुछिएको अडियो टेप बाहिरिएपछि आरजुले सार्वजनिक रूपमै त्यो झुट भएको बताएकी छन्। उनले उक्त अडियोको तथ्यजाँचका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीसमेत दिएकी छन्। पूर्वगृहमन्त्री खाण पत्नी मन्जुले भने सार्वजनिक रूपमा कुनै स्पष्टीकरण दिएकी छैनन्। पति बालकृष्णलाई प्रहरी पक्राउ गरेपछि केही दिन सार्वजनिक रूपमा नदेखिएकी उनी शुक्रबार प्रतिनिधिसभा बैठकमा उपस्थित भइन्।

अडियोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘अनुसन्धानका क्रममा आएका हरेक विषयको स्वाभाविक रूपमा छानबिन हुन्छ। तर यो अडियोमा तेस्रा व्यक्तिहरूका बीचमा कुरा भएको सुनिएको छ,’ अनुसन्धानको नेतृत्व गरिरहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्की भन्छन्, ‘रकम लिएको पुष्टि हुने आधार हुनुपर्‍यो। पुष्टि हुने आधार भेटिए जो भए पनि पक्राउ गर्छौं।’

अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीका अनुसार पक्राउ परेका गिरोहका एक सदस्यले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम मुछेका छन्। तर उनी पनि प्रहरीको प्रत्यक्ष अनुसन्धानमा तानिएका छैनन्।

दोहोरो प्रमाण नजुट्दा बाहिर

प्रहरीले अनुसन्धानका क्रममा ‘दोहोरो प्रमाण भेटिएका’लाई मात्रै हिरासतमा लिएर थप अनुसन्धान गरिएको दाबी गरेको छ। ‘एकजनाले पोलेका भरमा वा एकतर्फी शंका उब्जिएकै भरमा हामीले कसैलाई पक्राउ गरेका वा पक्राउ पुर्जी लिएका छैनौं,’ अनुसन्धानमा संलग्न एक उच्च अधिकारी भन्छन्, ‘प्रस्ट रूपमा दोहोरो प्रमाण जुटेपछि मात्रै हामीले पक्राउ पुर्जी लिएका छौं। जो कसैबाट पोलिएका वा शंकाको घेरामा तानिएका छन्, उनीहरूविरुद्ध पनि अनुसन्धान भएको/भइरहेको छ। दोहोरो प्रमाण नजुट्दा पक्राउ गर्ने बाटो नखुलेको अवस्था छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको राडारमा देखिएका केही भिआइपीबारे बलियो प्रमाण फेला नपरेको भन्दै प्रहरीले पक्राउ परेका र फरार रहेकाहरूलाई समेटेर प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।

हालसम्म प्रहरीले १६ जनालाई पक्राउ गरेको छ भने १५/१६ जना अन्य व्यक्तिविरुद्ध पक्राउ पुर्जी लिएको छ। पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव (हाल निलम्बित) टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेस नेता आङटावा शेर्पा र भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल छन्। पक्राउ परेका अन्यमा गिरोहका नाइके, बिचौलिया र सर्वसाधारणबाट रकम संकलन गर्नेछन्। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरजसहित १५/१६ जना फरार छन्।

प्रहरीले संगठित अपराध निवारण ऐन, २०७० अनुसार यस प्रकरणको अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्याद हुन्छ। जसअनुसार मंगलबारसम्म यो प्रकरणमा आरोपीहरूलाई अभियोजन गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसक्नुपर्छ।

(अरूण बमले लेखेको यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौं । )