FLASH NEWS

निलो बर्दीका चम्किला पात्र


नेपाल आवाज १३ जेष्ठ २०८०, शनिबार ०७:२१ मा प्रकाशित २६८९ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीमा राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरी दुई एसएसपीले संगठनको साख जोगाएका छन्। आफूभन्दा माथिल्ला अधिकारी राजनीतिक रूपमा विभाजित रहेका बेला संगठनको साख जोगाउने गरी काम गर्न सहज भने थिएन।


गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालयसमेतको सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोज केसीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा देखाएको साहसको प्रशंसा गरिएको छ। जसले गर्दा विगत केही वर्षदेखि धुमिलिएको प्रहरी संगठनको छवि सुधार्न र जनमानसमा प्रहरीका अधिकृत कुनै पनि काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह भएको छ।

नक्कली भुटानी शरणार्थीका नाममा ठगी गिरोहले गृह मन्त्रालय नै कब्जा गरी नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने सपना देखाएर करोडौं रुपैयाँ असुलेको प्रकरणमा अनुसन्धान गर्ने, अनुसन्धान प्रतिवेदन बनाउने निकाय काठमाडौं प्रहरी परिसर हो। हाल परिसर प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्की छन्। यो प्रकरणमा सुरुवाती उजुरी लिएर अनुसन्धानमा खटिएको प्रहरीको अर्को निकाय उपत्यका अपराध अनुसन्धान कार्यालय हो।

उपत्यका अपराध अुसन्धान कार्यालयको कमान्ड हाल एसएसपी केसीले समालेका छन्। यी दुई प्रहरी अधिकारी विगतमा कमान्ड समालेका ठाउँमा अब्बल प्रमाणित भइसकेका छन्। त्यसैको परिणाम उनीहरूले अहिले ‘भ्याली’का महत्वपूर्ण युनिटको कमान्ड पाएका हुन्। प्रहरीका यी दुई निकायको कमान्ड समालेका कार्की र केसीलाई गृह मन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनले पनि अनुसन्धानमा बल पुगेको हो। श्रेष्ठले गृह मन्त्रालय समालेपछि प्रहरी अनुसन्धानमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएका थिए। जसले गर्दा यी दुई एसएसपीको सम्पर्क, सम्बन्ध र समन्वय पनि गृहमन्त्रीसँग बढी रह्यो।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पक्राउ भई आएका आरोपीमाथि परिसर प्रमुख एसएसपी कार्कीकै प्रत्यक्ष निगरानीमा अनुसन्धान गरी प्रमाण जुटाउने काम भयो। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा पैसा उठाएको गिरोहले अमेरिका नपठाएपछि पीडित प्रहरीमा पुगेका थिए। पीडितले काठमाडौं प्रहरी परिसरमा उजुरी भने दिएका थिएनन्।

पीडितले प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरमा उजुरी दिएका थिए। हालका आइजिपी वसन्त कुँवर सो कार्यालयको प्रमुख भएकै बेला पीडितले उजुरी दिएका थिए। उजुरीका आधारमा गिरोहका नाइके-योजनाकार केशव दुलाल र टंक गुरुङ पक्राउ परेका थिए। त्यतिबेला कांग्रेस नेतृत्वको सरकार थियो। गृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाण थिए। उनैले टेकनारायण पाण्डेलाई गृहसचिव बनाएर ल्याएका थिए। सचिव पाण्डेको आदेशमा त्यसबेला पक्राउ परेकालाई कुनै अनुसन्धान नगरी छाडिएको थियो। त्यसको एक वर्ष नपुग्दै कुँवर आइजिपी भए। कुँवर आइजिपी भएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयले सो गिरोहका तीनजनालाई पक्राउ गर्यो। उनीहरूविरुद्ध सामान्य ठगीमा अनुसन्धान हुँदैगर्दा गिरोह ठुलै रहेको संकेत मिलेपछि प्रहरी थप अघि बढ्यो।

यहाँनिर स्मरण गर्नुपर्ने कुरा के हो भने हालका उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी केसी आउनुअघि नै पीडित उपत्यका अपराध अनुसन्धान कार्यालयमा धाउन थालेका थिए। त्यसअघि हालका आइजिपी कुँवर अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा नै उजुरी आउन थाले पनि चर्को राजनीतिक दबाबले अनुसन्धान टुटेको थियो। गिरोहकै योजनामा उनीपछि एसएसपी जनक भट्टराई कार्यालय प्रमुख भए। ६ महिना कार्यालय प्रमुख भएका भट्टराईको कार्यकालमा पनि उक्त प्रकरणको अनुसन्धान अघि बढ्न सकेन। भट्टराईपछि कार्यालय प्रमुख भएका एसएसपी केसीले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा चासो राखे। उनी कार्यालय प्रमुख भएर आउँदा यो प्रकरणसँग जोडिएका मुख्य योजनाकारहरू भागेका थिए। उनीहरूले भित्रभित्रै पीडितको पैसा फिर्ता गरेर यो प्रकरणलाई सामसुम पार्न खोजे पनि सफलता मिलेन। केही पीडितलाई पैसा फिर्तासमेत गरे। तर सयौं व्यक्तिबाट करोडौं रकम उठाएर उपल्लो स्तरसम्मै पुर्याएका कारण उनीहरूले सबैको रकम फिर्ता गर्न सक्ने अवस्था थिएन। ठगिएको निवेदन दिनेको संख्या दिनदिनै बढ्न थाल्यो। उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पनि चुनौती थपिँदै गयो। यसैबीच काठमाडौंल प्रहरी परिसरले यो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने जुक्ति निकाल्यो।

त्यसपछि दुवै कार्यालय प्रमुखलाई अनुसन्धानमा राहत मिल्यो । त्यहीं बेला उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली तीनजनालाई पक्राउ गर्न सफल भयो । गत चैत १२ गते प्रहरीले मोरङका केशव दुलाल, टंक गुरुङ र ललितपुरका सानु भण्डारीलाई पक्राउ गर्यो । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरको जिम्मा लगायो । यसबारे एसएसपी केसीले आइजिपी कुँवरलाई जानकारी गराउँदा उनले ‘गो अहेड’ भनेका थिए । आरोपीहरूलाई पक्राउ गर्ने अधिकारी उपत्यका अपराध अनुसन्धान कार्यालयसँग भए पनि अनुसन्धान गर्ने र अदालती प्रक्रियामा जाने अधिकार भने परिसरसँग रहेका कारण परिसरलाई पक्राउ परेका तीनजना जिम्मा लगाइएको थियो ।

तीनजनाले मौखिक बयानमा यो प्रकरणमा संलग्न नभएको बताएका थिए। उनीहरूले बयानका क्रममा प्रहरीलाई आर्थिक कारोबार भएको स्वीकार गरे पनि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा आफूहरूको संलग्नता नरहेको बयान दिएपछि प्रहरी अधिकारीहरू तनावमा परेका थिए।

आर्थिक पाटो मात्रै देखिएपछि प्रहरीले तीनजनामाथि ठगीको कसुरमा जिल्ला अदालत काठमाडौंबाट अनुसन्धान गर्न म्याद लियो। ठगी कसुरमा थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्थाअनुसार २४ दिन बित्न लाग्दासमेत प्रहरीले प्रमाण जुटाउन सकेन। प्रहरीले उनीहरूको मोबाइलमा केही प्रमाण भेटिन सक्ने आशंका गर्यो। यसैक्रममा चैत २९ गते सन्देश शर्मा पक्राउ परे। शर्माको मोबाइल उनकै खल्तीमा भेटियो। काठमाडौं प्रहरी परिसरले सन्देशको खल्तीमा मोबाइल भेटेपछि बरामदी मुचुल्का गर्न बानेश्वर पठायो। त्यसअघि पक्राउ परेका दुलाल, गुरुङ, भण्डारी, सागर राईलाई २१ दिनपछि अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं प्रहरी परिसरमा पठायो। त्यतिबेलासम्म चारजनाले नै शरणार्थी प्रकरणमा संलग्नता नभएको बयान दिएका थिए। जब शर्माको मोबाइल फेला पर्यो, त्यसपछि मात्रै प्रहरी अनुसन्धानले गति लियो। काठमाडौं प्रहरीले प्रमाण जुटाउन शर्मासहित अन्यको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) मा पठायो। उनीहरूले त्यो बेलासम्म कुनै ‘हाई प्रोफाइल’को नाम लिएका थिएनन्।

डिएफएलबाट नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धमा हाई प्रोफाइलकै व्यक्तिको संलग्नता देखिने केही प्रमाण फेला परे। केही प्रमाण फेला परेपछि भने काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्की पक्राउ परेकालाई संगठित अपराधमा मुद्दा चलाउन भन्दै जिल्ला सरकारी वकिलको कार्यालय पुगे। सुरुमा ठगी कसुरमा अनुसन्धान अघि बढाइएकोमा अब संगठित अपराधमा ६० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिन सरकारी वकिल र महान्यायाधिवक्ताको कार्यालयलाई राजी गराउन प्रहरीले केही कसरत गुर्नपर्यो। यो प्रकरणमा उच्च पदस्थ व्यक्तिसमेत जोडिएका कारण सकेसम्म पक्राउ परेका चारजनालाई ठगी मुद्दा चलाउन तीव्र दबाब बढ्यो। तर एसएसपी कार्कीले संगठित अपराधमा मुद्दा चलाउन नमिल्ने भए मौखिक होइन, कागजी प्रक्रियामै प्रहरीलाई पत्र चाहिने अडान लिएपछि सरकारी वकिल कार्यालय ६० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमित दिन राजी भयो।

काठमाडौं प्रहरी परिसरले यसको जानकारी गृह, प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालय गरी तीन तहमा जानकारी गरायो। त्यसपछि पक्राउ परेका सबैलाई संगठित अपराधमा थुनामा राखेर अनुसन्धान गर्न आदेश मिल्यो। त्यसपछि अनुसन्धानले गति लियो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरज, सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परे। त्यति मात्र होइन, हाई प्रोफाइलका अन्य केही व्यक्तिमाथि पनि यो प्रकरणमा संलग्न भएको समाचार आउन थाले। केही अझै शंकाको घेरामा छन्। जे भए पनि अहिले एउटा अनुसन्धान सकिएर अदालतमा प्रवेश गरेको छ।

३३ किलो सुन प्रकरणमा प्रहरी संगठनकै कर्मचारीलाई फसाउन एउटा पक्ष दिलोज्यान दिएर लागेपछि अनुसन्धानमा सक्रिय रहेका प्रहरी अधिकारी कोभर्ट अपरेसन (गोप्य छानबिन) गर्न हिच्किचाएका थिए। पछिल्लो समय बर्दीको दुरूपयोग गरेको आरोपमा संगठनका कतिपय प्रहरी अधिकारी ‘लो प्रोफाइल’मा बस्दै आएका छन्। निर्मला पन्त हत्या प्रकरणमा पनि निष्पक्ष अनुसन्धान हुन सकेन। विभिन्न काण्डमा अनुसन्धान बढाएको प्रहरी राजनीतिक दबाब थेग्न नसकेर पछि हट्दा संगठनप्रति रहेको जनताको विश्वास गुम्न थालेको थियो। निलो बर्दीमाथि लागेको कालो धब्बा मेटाउन प्रहरी संगठनलाई पछिल्लो समय हम्मेहम्मे नै परेको थियो।

भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आइजिपी कुँवर र एआइजी श्याम ज्ञवालीको निर्देशन र सक्रियतालाई कम आँक्न मिल्दैन। तर पनि तालुक कार्यालयको ‘सान, मान र इज्जत’राख्ने भनेकै तल्ला तहका निकाय र अधिकरीको जिम्मेवारीबोधले हो। यसमा काठमाडांै प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा त्यसमा दिनरात खटिने प्रहरी अधिकारीहरूको भूमिका अहं देखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणलाई अदालतसम्म पुर्याउन प्रहरीका दुई निकाय र तिनका प्रमुख एसएसपी कार्की र केसीले नायकको भूमिका निर्वाह गरेका छन्।

(टपेन्द्र कार्कीले लेख्नु भएको यो खबर हामीले आजको नगरिक दैनिक पत्रीकाबाट लिएका हौं ।)