FLASH NEWS

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण


नेपाल आवाज १७ जेष्ठ २०८०, बुधबार १३:०१ मा प्रकाशित २४३१ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । दुईपटकसम्म फिर्ता भएको संशोधित ‘नागरिकता विधेयक–२०७९’ बुधबार बिहान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।


यससँगै नागारिकता विधेयकले बैधानिकता पाएको छ । अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो ।

अहिलेको सरकारले गत जेठ १२ गते नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष पठाएको थियो । राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गरेका थिए ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने गृह मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।

नयाँ नागरिकता विधेयकमा मुख्यत: तीन वटा परिवर्तन गरिएको छ। पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउने छन्। विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) हरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ। २०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो।

दोस्रो, आमाको नामबाट मात्र पनि नागरिकता पाइने छ। यद्यपि यसरी नागरिकता पाउन चार वटा शर्त भने विधेयकले राखेको छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ। बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ।

तेस्रो, विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। विदेशमा रहेका कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्।