FLASH NEWS

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विपरीत छ: रवि लामिछाने


नेपाल आवाज १७ जेष्ठ २०८०, बुधबार १५:५३ मा प्रकाशित ९५५ पाठक संख्या

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडलेबाट प्रमाणीकरण भएको नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेको बताएका छन् ।


बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेपछि सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आपत्ति जनाएका हुन् ।

नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई विधेयक प्रमाणीकरण गरिएकोमा उनले आपत्ति जनाएका हुन् ।

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ,’ उनले लेखेका छन् ।

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि भारतलाई रिझाउनका लागि सरकारले दलाली चरित्र देखाएको धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

एमालेले विधेयक संसद्बाट सिफारिस हुनुपर्नेमा क्याबिनेटबाट सिफारिस हुनु र राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु संविधान र कानुनविपरीत भएको जनाएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेइमानी भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित भएकोमा पनि थापाले प्रश्न उठाएका छन् । ‘प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रस्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो । राष्ट्रहित विपरीत ठहर गरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो। राष्ट्रप्रति बेइमानी हो,’ थापाले ट्वीटरमा लेखेका छन् । राष्ट्रपति पौडेलले ९ महिना अघि निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गरेर संविधान र जनादेशको अपमान गरेको उनको आरोप छ । अब भारतीय महिलाले विवाह कै दिन नागरिकता पाउने भन्दै नागरिकता कागजको खोस्टो मात्र नभएको थापाले बताए ।

राप्रपाले नागरिकता विधेयक प्रमाणीकरणले आशंका जन्माएको बताएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले संसदमा छलफल नगरी उक्त विधेयक मन्त्रिपरिषद्ले प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउनु नै रहस्यमय रहेको बताए ।

‘जनभावनाविपरीत सर्वपक्षीय छलफलको आधारबिना हठात् गरिएको नागरिकता विधेयक प्रमाणीकरणले प्रशस्त आशंकाहरू जन्माएको छ । कोही नेपाली नागरिकताबाट वञ्चित नहोऊन् र काेही विदेशीले नागरिकता नपाऊन् भन्ने हाम्राे पार्टीको धारणा छ,’ उनले भने, ‘सरकारले संसदमा भएका शक्तिहरूबीच छलफल नगरी प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउनु रहस्यमय छ ।’

यसैबीच,राजनीतिक टिप्पणी खासै नगर्ने अभिनेत्री मनिषा कोइरालाले भने यस पटक आफ्नो प्रतिक्रिया जनाएकी छिन् । उनले आफ्नो ट्विटर अकाउन्टमा उनलाई यो कुर्सी किन दिइयो भनेर बुझ्न गाह्रो नभएको बताएकी छिन् । यस्तै उनले राष्ट्रपतिको यो कदमले आफूलाई लेन्डुप दोर्जेको याद आयो समेत भनेकी छिन् ।

लेन्डुप दोर्जे नेपाली राजनीतिमा निकै चर्चित नाम हो । उनलाई एक राष्ट्रघाती योद्धा भनिन्छ जसले आफ्नो सिक्किम राज्यलाई भारतमा लगेर गाभेका थिए भन्ने गरिन्छ ।