FLASH NEWS

प्रधानमन्त्रीको भारत भ्रमण : आज उच्चस्तरीय राजनीतिक भेटवार्ता


नेपाल आवाज १८ जेष्ठ २०८०, बिहीबार ०८:४८ मा प्रकाशित २०४१ पाठक संख्या

काठमाडौं – चारदिने औपचारिक भारत भ्रमणको क्रममा दक्षिण छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ ।


भ्रमणको दास्रो दिन आज प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुष्पगुच्छा अर्पण गर्न पुग्नुहुने छ । लगत्तै प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न ११ बजे हैदराबाद हाउस पुग्नुहुने छ । हैदराबाद हाउसको नीलगिरि कक्षमा मोदीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता हुनेछ । दुई नेताबीच एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यसका लागि बिहान ११ बजेर पाँच मिनेटदेखि ११ बजेर ३५ मिनेटको समय छुट्याइएको छ । त्यसपछि प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्रीसहित द्विपक्षीय भेटवार्ता हुनेछ ।

मध्यान्ह १२ बजे ‘एक्सचेन्ज अफ एग्रिमेन्ट’को कार्यक्रम र त्यसपछि १२ बजेर २० मिनेटमा केही परियोजनाको संयुक्त उद्घाटन र लगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । त्यसपछि प्रचण्डको सम्मानमा भारतीय समकक्षी मोदीका तर्फबाट हैदराबाद हाउसमा दिइएको दिवाभोजमा नेपाली डेलिगेसनको सहभागिता रहनेछ  । २ बजे हैदराबाद हाउसबाट प्रधानमन्त्री प्रचण्ड आफू बसेको होटलका लागि प्रस्थान गर्नुहुने छ ।

भ्रमणको क्रममा दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता र सहकार्यका लागि छलफल हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभएको छ । त्यस्तै, प्रधानमन्त्री तहमा सीमा समस्याका सवालमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति जगदीप धनखडसँग ४ बजे र राष्ट्रपति द्रौपदी मुर्मूसँग साढे ४ बजे शिष्टाचार भेट गर्ने कार्यसूची छ । बेलुका साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीको संयुक्त कार्यक्रममा दाहाल केहीबेर उपस्थित हुनुहुने छ । त्यहीदिन औपचारिक कार्यक्रमबाहेक प्रधानमन्त्री प्रचण्डले आफू बसेको होटलमै विभिन्न व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ ।