FLASH NEWS

बजेटमाथि ओलीको टिप्पणी- कृषी बढाउने कुरा छैन, कसका लागि गाँजा खेती ?


नेपाल आवाज २३ जेष्ठ २०८०, मंगलवार १५:५० मा प्रकाशित ४३२१ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटमा गाँजा खेतीलाई प्राथमिकता दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।


मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि आफ्नो धारणा राख्दै बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको तर गाँजा खेतीलाई दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । बजेटमा धान फलाउने, गहुँ फलाउने, खाद्यन्नमा आत्मनिर्भरता बनाउने कुरा नरहेको ओलीले टिप्पणी गरे ।

‘अचम्म लाग्छ, धान फलाउने आलु फलाउने, कृषि बढाउने, गहुँ फलाउने कुरा छैन । खाद्यान्न आत्मनिर्भरता बनाउने कुरा छैन । कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? कसका लागि गाँजा खेती ? अचम्म लाग्छ यो गाजाँ खेती कसलाई चाहिएको छ ? अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि,,’ ओलीले प्रश्न गरे ।

उनले भने, ‘गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? किन आउँछन् यस्ता फेन्सी कुरा ? जनताका हितभन्दा पर यस्ता कुरा किन आउँछन् ?

गाँजा खेतीको पछाडि व्यक्तिहरु रहेको र उनीहरुले वैधानिकता खोजिरहेको उनले बताए । कतिपय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गाँजा खेती हुँदा कतिपयको जीविकोपार्जन हुने भन्ने लागेको हुनसक्ने उल्लेख गर्दै ओलीले नियन्त्रित गाँजा खेतीको विषय भएको बताए । तर सरकारको रेखदेखमा गाँजा खेती गर्ने विषय अनौठो रहेको उनले बताए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका थिए ।