FLASH NEWS

हिमानी ट्रष्टद्वारा हुम्लामा विद्यार्थीलाई ज्याकेट वितरण


नेपाल आवाज २३ जेष्ठ २०८०, मंगलवार २०:११ मा प्रकाशित १७१७ पाठक संख्या

सिमकोट – पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापना भएको हिमानी ट्रष्टले सिमकोट गाउँपालिका–२ रामदेव माविका विद्यार्थी र शिक्षकका लागि न्यानो ज्याकेट सहयोग गरेको छ।


विद्यालयलाई प्राप्त भएका ज्याकेटहरु मंगलबार एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो। विद्यालयका प्रधानाध्याक टिकाराम पौडेलले ट्रष्टबाट विद्यालयलाई ज्याकेट प्राप्त भएको बताए।

उनले ट्रष्टबाट सुर्खेतसम्म ज्याकेट प्राप्त भएको र सुर्खेतबाट विद्यालयले ढुवानी गरेर ल्याइएको बताए। विद्यालयलाई २४० ज्याकेट प्राप्त भएका थिए। सो विद्यालयमा मंगलबार १९८ जना विद्यार्थी, शिक्षक, कर्मचारीलाई ज्याकेट वितरण गरिएको उनले बताए। छुटेका विद्यार्थीहरुलाई पनि ज्याकेट दिइने छ।

विद्यालयलाई ज्याकेट उपलब्ध गराउन सिमकोट गाउँपालिका– ३ निवासी पूर्व जिल्ला विकास समितिका उपसभापति फुन्जोक लामाले समन्वय गरेका थिए।