FLASH NEWS

सुनकोशीमा भेटिएका दुई शवको सनाखत , बेपत्ता भुर्तेलको खोजी आज पनि गरिने


नेपाल आवाज २४ जेष्ठ २०८०, बुधबार ०८:३५ मा प्रकाशित २१४९ पाठक संख्या

काठमाडौं – पाँच दिनपछि भेटिएका सुनकोशी जिप दुर्घटनामा बेपत्ता भएका सीटीईभीटीका अधिकारीहरूमध्ये दुई जनाको शवको पहिचान भएको छ।


भेटिएका शवहरू प्रशासन महाशाखा निर्देशक सहसचिव कृष्ण बहादुर केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पहिचान भएका शवलाई मंगलबार राति नै जिल्ला असपतालको शववाहनमा राखेर पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७ लौकुनमा दुर्घटना भएको थियो।

दुर्घटनापछि जिपसहित तीन जना सीटीईभीटीका कर्मचारीहरू बेपत्ता थिए। पाँच दिन लगातारको खोजीपछि बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव भेटिएको हो।

सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल अझै बेपत्ता छन्। दुर्घटनामा चालक भने सुनकोशीमा पौडिएर उत्रिएका थिए।

सुनकोशीको पानीलाई डाइभर्ट गरी सशस्त्र प्रहरीको खोताखोरको सहायतामा मंगलबार दुर्घटनाग्रस्त जिप पनि भेटिएको छ। बेपत्ता एक जनाको खोजी बुधबार पनि गरिने प्रहरीले जनाएको छ।