FLASH NEWS

सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौँ : राजेन्द्र पाण्डे


नेपाल आवाज २६ जेष्ठ २०८०, शुक्रबार १२:५५ मा प्रकाशित १०६३ पाठक संख्या

काठमाडौं –  सत्तारुढ दल  नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)ले जेठ १५ मा सार्वजनिक भएको बजेट यथास्थितिमा पास गर्न नदिने दाबी गरेको छ।


पार्टी निकट समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले बरु सरकार छाड्नुपरे आफूहरू छाड्न तयार रहेको तर यथास्थितिमा पास गर्न नदिने बताएका हुन्। पाण्डेले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको बताए ।

उनले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्टाइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्टाइएको भन्दै कुनै पनि अवस्थामा यो सह्य नहुने चेतावनी दिए ।  पूर्वमन्त्री समेत रहेका पाण्डेले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य हुन नसक्ने बताएका हुन् । यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको पाण्डेको भनाइ छ ।

‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ । अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ । यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन’,आजको जनता २०४८ सालको जनता होइन । अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ । सरकार छोड्न परे परोस्, यो अन्याय सहनु हुँदैन ।’ पाण्डेको भनाइ छ ।

उनले आफू प्रतिपक्षको सांसद भएर नभई सत्ता पक्षकै भएर पनि यहीँ स्थितिमा यो बजेट पास हुन नसक्ने बताए । उनले भने, ‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ । अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ । यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’ उपाध्यक्ष पाण्डेले अरु पार्टीहरुको इसारामा चल्दा पार्टी निर्माण गर्न नसकिने बताए ।

यसअघि पनि पार्टीका अध्यक्ष माधव नेपालले बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजेट तीन जिल्लामा मात्र केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका थिए।