FLASH NEWS

‘मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने निश्चित’ : कमल थापा


नेपाल आवाज २९ जेष्ठ २०८०, सोमबार २२:२७ मा प्रकाशित १११७ पाठक संख्या

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने निश्चित भएको बताएका छन् ।


इतिहासमै सबैभन्दा बढी राष्ट्रियता कमजोर भएको, विदेशी हस्तक्षेप र प्रभाव बढेर तथा इतिहासकै डरलाग्दो आर्थिक मन्दीको चपेटामा मुलुक फसिरहेको बताउँदै थापाले यी विषयलाई नसच्याइ अघि बढे मुलुक दुर्घटनामा पर्ने बताएका हुन् ।

काठमाडौंका पार्टीसम्वद्ध अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै थापाले भने, ‘विद्यमान समस्याका क्रमहरू जारी रहने हो र यथास्थिति मै मुलुक रहिरहने हो भने दुर्घटना अवश्यम्भाबी छ ।’

मुलुकमा भ्रष्टाचार संस्थागत भएको तथा बेरोजगारी र महङ्गीले आकाश छोएको अवस्थालाई सामान्य भन्न नमिल्ने उनको भनाइ छ ।

अध्यक्ष थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको भन्दै मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा तीव्र आलोचना गरे ।

सस्तो लोकप्रियता र तालीका लागि भन्दा मुलुकको समस्याको दीगो समाधानतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् ।

राप्रपा नेपाललाई सडक केन्द्रित बनाउँदै जनताको माझमा जाने नीतिअनुरुप काम गर्न समेत उनले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इञ्चार्ज माधव खत्री, काठमाडौं अध्यक्ष श्याम घिमिरेलगायत जनवर्गीय संगठनका अध्यक्षहरूले आगामी कार्यक्रमको खाका प्रस्तुत गरेका थिए ।