FLASH NEWS

गाडीमा आएका प्रधानमन्त्री प्रचण्ड सडक खाल्डा खुल्डी भएकाे भन्दै हेलिकोप्टरमा फर्किए


नेपाल आवाज २ असार २०८०, शनिबार १९:३६ मा प्रकाशित ३०९१ पाठक संख्या

सिन्धुपाल्चोक –  शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको अवलोकन गरे । गाडीमा आएका प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरमा काठमाडौं फर्किएका छन् ।


शनिबार बिहान प्रधानमन्त्रीसहित मन्त्रीहरू मेलम्ची खानेपानी आयोजनाको अवलोकन गरेका छन् । स्थलमार्ग हुँदै मेलम्ची आयोजना स्थल पुगेको भएपनि सडक खाल्डा खुल्डी भएकाले प्रधानमन्त्री सेनाको हेलिकप्टरबाट काठमाडौं फर्किएका हुन् ।

मेलम्चीको अवलोकनका लागि प्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, स्वास्थ्यमन्त्री मोहन बस्नेत, खानेपानीमन्त्री महिन्द्र राय यादवलगायत सिन्धुपाल्चोक आएका थिए ।

मेलम्चीमा स्थानीय जनप्रतिनिधिहरूले उनीहरूको स्वागत गरेको थियो । निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गरेका थिए । सोक्रममा उनले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराएका थिए ।

निरीक्षण भ्रमणपछि प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौं पुगेर गृहकार्य गर्ने बताउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने बताए ।

दुई वर्षअघि आजकै दिन ठूला बाढी आएको थियो । बाढीका कारण दर्जनौं घरहरू बगाएको थियो । बाढीले मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पु¥याएको थियो।

प्रधानमन्त्री प्रचण्डले बाढीले क्षति पु¥याएका घरहरूको पुनः निर्माणबारे पनि अवलोकन र निरीक्षण गरेका छन् । उनले ती क्षेत्रका जनताको भोग्गुपरिरहेको समस्याका बारेमा अभिरुचिपूर्वक चासो राखेका थिए ।