FLASH NEWS

‘नागरिकता विधेयक बेठिक, प्रमाणीकरण प्रक्रिया पनि बेठिक’: पूर्वराष्ट्रपति भण्डारी


नेपाल आवाज ३ असार २०८०, आईतवार १०:१९ मा प्रकाशित १५४३ पाठक संख्या

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन्। अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प्रक्रियागत त्रुटि भएको उनले बताइन्।


‘त्यो विधेयक बेठिक थियो, प्रमाणीकरण प्रक्रिया पनि बेठिक भयो। आफ्नो देश कमजोर होस् भन्ने चाहना कसैको हुन्न तर यहाँ आफ्नो देश कमजोर होस्, केही मतलब छैन। अर्काको प्रशंसा गरिरहनुपर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुप¥यो ? बरु मरिन्छ, देशमाथि गद्दारी गरिन्न, मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन’, भण्डारीले शुक्रबार साँझ आफ्नै निवासमा केही सञ्चारकर्मीसँग भनिन्।

भण्डारीले नागरिकता विधेयक नयाँ सविधानअनुसार नआएको दाबी गरिन्। ‘नयाँ संविधानअनुसार ल्याउनुपर्‍यो नि त, पुरानो संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको हो। नयाँ संविधान २०७२ सालमा जारी भएको हो तर त्योभन्दा पहिलाको संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको विधेयकलाई कसरी स्विकार्नु हुन्छ ?’ उनले भनिन्, ‘गर्न नहुने काम भएको छ।’

उनले पदमा रहँदा वा नरहँदा आफूले केवल देशको हित मात्र हेरेको बताइन्। ‘यो देशमा षड्यन्त्र भइरहन्छन्। चन्द्र, सूर्य रहेसम्म नेपालको मौलिक पहिचान जोगाउनुपर्छ। हामी सबै मिलेर हाम्रो राष्ट्रियता जोगाउनुपर्छ, देशको सवालमा कसैसँग कुनै पनि सम्झौता गर्नुहुँदैन’, उनले भनिन्।

तत्कालीन राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। सोही विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पत्र लेखेका आधारमा प्रमाणीकरण गरेपछि प्रक्रियागत त्रुटि भएको भन्दै आलोचना भइरहेको छ।

यो विवाद सर्वोच्च अदालतमा पनि पुगेको छ। सर्वोच्चले नागरिकता विधेयकलाई कानुनका रूपमा कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ।

पूर्वराष्ट्रपति भण्डारीले आफूले नागरिकता विधेयक रोकेपछि अनेक लाञ्छना खेपेको तर देशको हितमा नभएको विधेयक रोक्दा कुनै पश्चात्ताप नभएको बताइन्। नागरिकताको समस्या २००९ सालदेखिको भएकाले यसमा राष्ट्रिय सहमति हुनुपर्ने उनको भनाइ छ। आफूले रोकेको विधेयकलाई अहिलेका राष्ट्रपतिले संविधान र जनताको भावनाविपरीत प्रमाणीकरण गरेको बताइन्। ‘नागरिकता विधेयक जस्ताको तस्तै जारी गरिनु ठिक होइन, होइन,’ उनले भनिन्।

चार प्राथमिकता

पूर्वराष्ट्रपति भण्डारीले आफू निष्क्रिय भएर नबस्ने बताइन्। युवाको विदेश पलायन रोक्न, बेरोजगारी समस्या समाधान गर्न, आर्थिक संकट समाधान गर्न र कृषि क्षेत्रको विकासमा कसरी काम गर्न सकिन्छ भनेर आफूले विज्ञहरूसँग परामर्श गरिरहेको बताइन्।

मुलुकको शिक्षा प्रणालीमा सुधार, जलवायु अनुकूलनका लागि हरियाली प्रर्वद्धन, कृषि उत्पादन वृद्धि गरी आयात रोक्ने अभियान, प्रदूषण न्यूनीकरणका लागि सरसफाइ अभियान, जनस्वास्थ्य जस्ता क्षेत्रमा सक्दो काम गर्ने उनको योजना छ। उनले आफ्नै देशमा पैसा तिरेर पढ्छु भन्ने वातावरण नभएको तर त्यही विषय विदेशीले सित्तैमा पढाइदिने अवस्था आएपछि शैक्षिक दक्ष जनशक्ति पलायन हुन पुगेको बताइन्।

राजनीतिमा नफर्कने

पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा नफर्कने संकेत गरिन्। आफू आफ्नै जोडबल गरेर राजनीतिमा नआएको तर परिस्थितिले यो अवस्थासम्म ल्याइपुर्‍याएको बताइन्। एमालेले कार्यकारी तहमा ७० वर्षे उमेरहदको व्यवस्था हटाएको सन्दर्भमा ‘तपाईं फेरि पार्टी राजनीतिमा फर्कने चर्चा कार्यकर्ता पंक्तिमा चलिरहेको छ नि !’ भन्ने प्रश्नको जवाफमा उनले आफूमा अध्यक्ष बन्ने महत्वाकांक्षा नभएको बताइन्।

‘मलाई अध्यक्ष बन्ने महत्वाकांक्षा छैन, लालायित पनि छैन। टुलुटुलु हेरेर बस्ने कि नबस्ने भन्ने प्रश्न पनि छ। बहुदलीय जनवादको विषयमा पार्टीले लिएको धारणा, यसलाई तल्लो पंक्तिसम्म पुर्‍याउनुपर्ने कुरा पनि छ। यत्ति हो, क्लोज्ली वाच गरिरहेको छु,’ उनले भनिन्। भण्डारीले आफूलाई एमाले राम्रो होस् भन्ने लाग्नु स्वाभाविकैै भए पनि सक्रिय राजनीतिमा फर्कनेबारे केही नसोचेको तर राजनीतिलाई नजिकबाट हेरिरहेको बताइन्।

‘मलाई अरूलेभन्दा राम्रोसँग मैले नै चिनेकी छु, मलाई नजिकबाट चिन्नेले चिनेका छन्, म नेतृत्वमा बस्न अलिक डराउने मान्छे हो तर कतिपय अवस्थामा नचाहेर पनि कतिपय जिम्मेवारी पूरा गर्नुपर्छ। नवौं महाधिवेशन सकाएर घरभित्र पस्न नपाउँदै एकजना भाइले दसौं महाधिवेशनमा को बन्छ अध्यक्ष? उतातिर त कुरा चलिसकेछ भन्नुभयो, मैले त्यतातिर नजाऔंभन्दा पनि फेरि सोधेपछि भनेकी थिएँ–म एमालेको अध्यक्ष हुँदा कम्युनिस्ट पार्टीको प्रथम महिला अध्यक्ष भन्ने पनि हुन्छ। लिगेसी पनि छ। तर म राष्ट्रपतिको जिम्मेवारीमा जानुपर्‍यो। अब फेरि एमालेमा प्रतिस्पर्धी भएर बस्न मन छैन,’ उनले पुरानो कुरा सुनाउँदै भनिन्, ‘अहिले पनि यस्तो चाहना आउनु अस्वाभाविक होइन।’

(टपेन्द्र कार्कीले लेख्नु भएको यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौं ।)