FLASH NEWS

नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरण कम्पनीको निर्णय


नेपाल आवाज ४ असार २०८०, सोमबार १२:३० मा प्रकाशित १९२१ पाठक संख्या

काठमाडौं – ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ ।


कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए ।

काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै राठीले फिल्म उतार्ने निर्णय भएको बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि महानगरका ३२ वडाभित्रका १७ वटै फिल्म हल बन्द गराएका छन् ।

चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सका निर्देशक मनोज राठीको असन्तुष्टि छ ।

साथै, समस्या समाधानका लागि मेयर बालेनले पनि तदारुकता नदेखाएकोप्रति वितरकको गुनासो छ । मेयर बालेनको निर्देशनमा नगर प्रहरी आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए ।

जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेनले फेसबुकमार्फत यसलाई भारतमा सच्याउन तीन दिनको समय दिएका थिए । तर नसच्याइएको भन्दै सोमबारदेखि भारतीय फिल्मलाई निषेध गर्ने निर्णय उनले गरेका छन् ।

यस्तै, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टी व्यक्त गरेको छ । सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी दिए ।

उता, भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले नेपाल चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको छ ।

कम्पनीले आइतबार इमेलमार्फत पत्र पठाएर चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरुको स्वाभीमानलाई प्रतिनिधित्व गरेको उल्लेख गरेको छ ।

कम्पनीकी राधिका दासद्वारा हस्ताक्षरित पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न भनेकी छन् ।

‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्याएको भए माफी चाहन्छौं, कसैको सौहाद्रतामा खलल पुर्याउने हाम्रो कुनै पनि चाहना वा नियोजित कार्य थिएन’, पत्रमा भनिएको छ ।

‘चलचित्रमा प्रभासले निभाएको चरित्र श्री राघवले बोलेको ‘आज मेरे लिए मत लड्न, उस दिन के लिए लड्ना जब भारत कि किसि बेटी पर हात डाल्ने से पेहेले दूराचारी तुमहारा पौरुष याद कर्के थ्रा उठेका’ को सम्बन्ध माता सीताको जन्मभूमिसँग सम्बन्धित नभएको तर भारतका सबै महिलाहरुको स्वाभीमानलाई जनाउने रुपमा प्रयोग गरिएको हो’, पत्रमा उल्लेख गरिएको छ ।

भारतमै चर्को विरोधका साथै मुद्दा दर्ता

फिल्म ‘आदिपुरुष’को भारतमै चर्को विरोधका साथै मुद्दा दर्ता भएको छ । रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो । विभिन्न हिन्दू संघ संगठनले उक्त फिल्मविरुद्ध मुद्दा दर्ता गराएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अखिल भारतीय हिन्दू महासभाले फिल्म प्रदर्शनमै रोक लगाउन माग गर्दै मुद्दा दर्ता गरेको हो । महासभाका महासचिव शिशिर चतुर्वेदीले फिल्मले हिन्दू संवेदनशीलतामाथि प्रहार गरेको, रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको आरोप समेत लगाएका छन् ।

उता, फिल्मका संवाद लेखक मनोज मुन्तसिर शुक्लाले फिल्मका केही संवादहरु परिवर्तन गर्ने निर्णय भएको बताएका छन् । यसै साताभित्र संवादहरु परिमार्जन गरिसक्ने भन्दै उनले मानिसको संवेदनशीलता भन्दा ठूलो अरु केही हुदैन भन्ने आफूहरुले बुझेको बताएका छन् ।

फिल्ममा रामायणका महत्वपूर्ण पात्र हनुमान मार्फत प्रयोग गराइएका संवादको पनि ब्यापक आलोचना भएको छ ।

यो पनि पढ्नुहोस् :

धरानका मेयर हर्क साम्पाङले पनि रोक लगाए ‘आदिपुरुष’

‘आदिपुरुष’ विवादबारे भारतीय कम्पनीले नेपाल चलचित्र विकास बोर्ड र बालेनलाई पठायाे पत्र

भारतीय फिल्म ‘आदिपुरुष’ विवाद : सरकारको प्रतिक्रिया – गम्भीर ध्यानाकर्षण !

‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि पहल थाल्न सरकारलाई बालेनकाे पत्राचार

भोलिदेखि काठमाडौँ महानगरभित्र भारतीय फिल्म चल्न नदिने बालेनको घोषणा