FLASH NEWS

उपप्राध्यापक चलाउनेलाई न्याय माग्दै प्रदर्शन गर्नेहरू पक्राउ


नेपाल आवाज ५ असार २०८०, मंगलवार १२:३२ मा प्रकाशित १२३७ पाठक संख्या

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन गनेहरु पक्राउ परेका छन् ।


जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी थिए । ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’, ‘जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।
सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन् ।

उपप्राध्यापक कुट्नेलाई नछोडौँ, न्यायलाई मर्न नदिऔँ : सांसद परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरुलाई दण्डित गर्न पनि सरकारसँग माग गरे ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपिट गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरुमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘हामी कुनै बेला नेपाललाई शान्ति क्षेत्र भन्दथ्यौँ । आज कमसेकम विश्वविद्यालयहरु शान्ति क्षेत्र हुन भन्ने हाम्रो अवधारणगत बुझाइ हो । प्रहरीले पनि भित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गुण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?’, उनले भने, ‘न्याय चाहिन्छ । न्यायलाई मर्न नदिऊँ । न्याय पनि मर्‍यो भने हाम्रो आशा रहँदैन । विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुट्नेहरुलाई नछोडौँ ।’