FLASH NEWS

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै


नेपाल आवाज ६ असार २०८०, बुधबार ११:२४ मा प्रकाशित १७०५ पाठक संख्या

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।


संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत  संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।

तनावमुक्त हुन योग आवश्यक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले योगले तनावमुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताएका हुन् ।

उनले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पु–याउने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनको सन्देशमा भनिएको छ, ’योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पु–याउँछ। योग शारीरिक अभ्यास मात्र नभई, निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धतिसमेत हो।’

योगसम्बन्धी ज्ञानका लागि नेपाल मूल गन्तव्य बन्नसक्छ:  प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन्।

बुधवार काठमाडौँमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमजलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले योग र ध्यानको महत्त्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए।

उनले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्त्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले भने, ‘यहाँका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको देखिन्छ। मठ, मन्दिर, मूर्तिकलामा होस् वा चित्रकला, थांका होस् वा सबैतिर योगको जबरजस्त प्रभाव देखिन्छ। यो देश योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना छ। योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नेकुरा गरिएको छ। मलाई विश्वास छ, नेपाल सरकारको यो निर्णयले योग आध्यात्मिक चिन्तनको महत्त्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्नेछ।’

उनले योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिने हो भने नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिने पनि बताए।