FLASH NEWS

पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश


नेपाल आवाज ७ असार २०८०, बिहीबार १२:२३ मा प्रकाशित १२३७ पाठक संख्या

काठमाडौं – पूर्व बैंकर अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् ।


रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरेका हुन् ।

उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

रास्वपाले आज बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ । चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको छ ।