FLASH NEWS

हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिले देश पछाडि पर्‍यो : प्रधानमन्त्री ‘प्रचण्ड’


नेपाल आवाज ८ असार २०८०, शुक्रबार २०:२५ मा प्रकाशित १२१९ पाठक संख्या

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिले नेपाल पछाडि पर्दै गएको बताएका छन्।


काठमाडौँमा आयोजित नेपाल उद्योग परिसंघ (सीएनआई) नेपालको २० औं साधारणसभाको उद्घाटन गर्दै उनले गालीगलौज गर्ने प्रवृत्तिका कारण सरकारले गरेका राम्रा कामहरू पनि ओझेलमा पर्दै गएको बताएका हुन्।

निजी क्षेत्रसँग मैत्रीपूर्ण सहकार्य नगरी मुलुकको समृद्धि नहुने भन्दै उनले समस्याका रूपमा रहेका ऐन कानुनको सुधार गर्न आफू लागिपरेको उल्लेख गरे।

यस्तै प्रधानमन्त्री प्रचण्डले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताएका छन् । उनले  विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको र विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्न सहज हुने बताए ।

अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सुरुवातमा नै गरेका निर्णयको प्रभावले अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको दाबी गरे ।

उनले तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानुनी सहजीकरण गर्न,साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न,सेवा प्रवाहमा सहजता ल्याउने काम भइरहेको बताए ।

उनले प्रविधिमैत्री अवधारणा लागू गर्न, अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन, मौद्रिक नीति र आर्थिक नीति बीच सन्तुलन कायम गर्न, बैंकको ब्याजदर घटाउन उपायहरु खोजगरी लागू गर्न, पुँजीगत खर्च बढाउन र अर्थतन्त्र सुधार गर्न आवश्यक पर्ने नीतिगत कानुनी र व्यवहारिक कदम चाल्न सरकार लागि रहेको बताए ।

उनले  सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारको लागि नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको बताए । उनले भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताए ।

प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको बताए । उनले पछिल्लो समय राष्ट्र हितको काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति बढ्दै गएको बताए ।

यस्तै उनले आफ्नो भारत भ्रमणका क्रममा भएको विद्युत् व्यापारको सम्झौताले आगामी १० वर्षभित्र नेपालले फड्को मार्ने दाबी गरे। १० वर्षमा १० हजार मेगावाट विजुली भारतमा निर्यात गर्ने योजनाले मुलुकको अर्थतन्त्र स्वाभाविकरूपमा सुध्रिने प्रचण्डको भनाइ छ। उनले नेपाल-भारतको सम्बन्धलाई आफ्नो भ्रमणले थप उचाइमा पुर्‍याएको बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा विवादका विषयमा राखेको प्रस्तावले पनि दुई मुलुकबीचको सम्बन्ध सुध्रिएको संकेतका रूपमा बुझ्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरे।