FLASH NEWS

नागरिकता संर्घष समितिका अध्यक्ष साफीसहित चारै दाजुभाइले पाए नागरिकता


नेपाल आवाज १० असार २०८०, आईतवार १८:५४ मा प्रकाशित १६३३ पाठक संख्या

काठमाडाैं – नागरिकता प्राप्तिका लागि संघर्षरत नागरिकता संघर्ष समितिका अध्यक्ष इन्जिनियर इन्द्रजित साफीसहित चार दाजुभाइले नागरिकता प्राप्त गरेका छन् ।


आमाबुबासँग जन्मसिद्धका नागरिकता भएका कारण उनीहरु नागरिकता प्राप्त गर्नबाट बञ्चित थिए । नागरिकता नपाएर लामो समयदेखि संघर्ष गरिरहेका इन्द्रजितका चारै दाजुभाइले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा पुगी वंशजको नागरिकता पाएका हुन् ।

३१ वर्षीय इन्द्रजित, २९ वर्षीय रञ्जित साफी, २२ वर्षीय छोटु साफी र २१ वर्षीय रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार नागरिकता उपलब्ध गराएको छ ।

इन्द्रजितका आमा सोनावती चार छोराहरु लिएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेकी थिइन् ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरेका थिए । लामो संघर्षपछि नागरिकता पाएको भन्दै इन्द्रजितले खुसी व्यक्त गरेका छन् ।