FLASH NEWS

पशुपतिको जलहरी नापजाँच गर्ने काम सकियो,अनुसन्धान टुङ्गोमा पुगेपछि विवरण सार्वजनिक हुने


नेपाल आवाज ११ असार २०८०, सोमबार ११:०५ मा प्रकाशित २५१५ पाठक संख्या

काठमाडाैं – पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमिततामाथि छानबिन गर्न प्राविधिक टोलीसहित मन्दिरमै पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी निकालेर सुनको गुणस्तर र तौल परीक्षण गरेको छ ।


आइतबार दिउँसाे दुई बजेदेखि मन्दिर परिसर पूर्णरूपमा खालि गराई सुनकाे जलहरी निकालेर नापजाँच गर्ने काम साेमबार बिहान बिहान २ बजे मात्र सकिएकाे छ।

राष्ट्र बैँकबाट १०३ किलो ७ सय ७३ ग्राम सुन किनेर राखिएको जलहरीबारे अहिले अनुसन्धानका क्रममा रहेकाले परीक्षणबाट प्राप्त विवरण गोप्य रहने र अनुसन्धान टुङ्गोमा पुगिएपछि सम्पूर्ण तथ्य विवरणहरू सार्वजनिक हुने अख्तियारले जनाएको छ ।

तौल तथा गुणस्तर जाँचका लागि अख्तियारले सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई समेत सहभागी गराएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सदस्य, भट्ट, पुजारी, सुरक्षाकर्मी लगायतसँग बयान लिइसकेको अख्तियारले अहिले जलहरी नै निकालेर तौल तथा गुणस्तर जाँच गराएको हो ।

आइतबार अपराह्न अख्तियारको टोली जलहरीमा प्रयोग भएको सुनको सत्यतथ्य जाँच्न जाने भएपछि मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपति प्रवेश गर्ने गेटदेखि मुख्य प्रवेशद्वार नै बन्द गराइएको थियो ।

त्यस क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीहरुले दिउँसैदेखि सुरक्षा प्रदान गरिरहेका थिए ।

लाखाैँ भक्तजनकाे आस्थाकाे केन्द्र पशुपतिनाथ मन्दिरलाई सिलबन्दी गरेर त्यहाँ भएकाे भ्रष्टाचारबारे छानबिन गरिएकाे याे पहिलाे पटक हाे।

सयाैँ वर्षसम्म ननिकाल्नेगरी पशुपतिकाे मूल मन्दिरमा स्थापित जलहरीमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित १३ जना व्यक्तिहरूकाे नाम कुँदिएकाे पाइएकाे छ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, तत्कालीन पशुपति क्षेत्र विकास काेषका सदस्य-सचिव प्रदीप ढकाल, काेषका काेषाध्यक्ष, पशुपतिका मूल भट्ट, अन्य दुई मूल पूजारीसहित १३ जनाकाे नाम कुँदिएकाे पाइएकाे हाे।

‘केपी ओली, विद्या भण्डारी, भानुभक्त ढकाललगायतले जलहरीमा नाम कुँदेर आफू अमर रहन खाेजेकाे बुझियाे’, जाँचमा संलग्न एक अधिकारीले भने।

जलहरीमा अनियमितता भएकोबारे प्रतिनिधि सभामा समेत कुरा उठेको थियो । सांसदले जलहरीमा सुन भनेर पित्तल राखेको कुरा उठाउँदा एमालेले विरोध गरेपछि सांसदको भनाइ नै रेकर्डबाट हटाइएको छ । जलहरी विवादमा केपी शर्मा ओलीसहित तत्कालीन पदाधिकारीहरुमाथि प्रश्न उठेपछि प्रेम राई नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोग यसको छानबिनमा अघि बढेको हो ।

जलहरीमा प्रयोग भएको सुन खरिदमा ५० करोड रुपैयाँ पशुपति क्षेत्र विकास कोषबाट र ३० करोड रुपैयाँ राज्यकोषबाट खर्च भएको हो । जलहरी बनाउन बाहिरबाटै सुन किन्ने तयारी भए पनि शुद्धता र परिणाममा प्रश्न उठेपछि सरकारको आधिकारिक निकाय राष्ट्र बैँकबाटै सुन खरिद गर्ने निर्णय सरकारले गरेको हो ।

यो पनि पढ्नुहोस : ‘पशुपतिको जलहरीमा सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार छु’ : सदस्यसचिव थापा