FLASH NEWS

पशुपतिको जलहरीबारे सत्यतथ्य बाहिर ल्याउन सांसद पौडेलको माग


नेपाल आवाज ११ असार २०८०, सोमबार १२:४५ मा प्रकाशित १४२९ पाठक संख्या

काठमाडाैं- नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।


सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद पौडेलले पशुपतिनाथ मन्दिर परिसरको गर्भगृहमा राखिएको जलहरीमा प्रयोग भएको सुनको मात्रा र हराएको सुनबारे सत्यतथ्य जाँच गरी सार्वजनिक गर्नुपर्ने बताए ।

जलहरीको विषयमा संसदमा पनि प्रशस्तै उठेको बताउँदै उनले भने,’पशुपतिनाथ मन्दिर परिषरमको गर्भगृहमा राखिएको जलहरीको बारेमा प्रश्न उठेको छ। भएको के हो? पशुपति क्षेत्र विकास कोष,नेपाल प्रहरी सुरक्षा निकाय ,सुन चाँदी व्यवसायी महासंघ,गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भू-गर्भ विभाग र जनप्रनिधिहरूले त्यहाँ सुन खोजेर तौल्दै हुनुहुन्छ भन्ने सुनियो,उनले भने,’ सभामुख महोदय, कति सुन हराएको हो? कति सुन बाँकी छ?के स्थिति हो ?  यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन। सदनमा सत्यतथ्य जानकारी गराउन माग गर्न चाहन्छु । सभामुखमार्फत् सम्बन्धित निकायलाई जानकारी गराउन विशेष अनुरोध गर्न चाहन्छु।’

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा निकाय, पशुपति विकास कोषलगायत विभिन्न निकायसँग मिलेर पशुपतिको जलहरी तौलेको थियो । तर, यसबारे आधिकारिक जानकारी दिइएको छैन।

पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो । महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख छ। तर पुष्टि हुन सकेको छैन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसबारे छानबिन गरिहेको छ।