FLASH NEWS

ओलीले पशुपतिमा सुनले नाम लेखाउने रहर जागेर जलहरी लगाउनुभएछ : दाहाल


नेपाल आवाज ११ असार २०८०, सोमबार २१:०४ मा प्रकाशित १३८१ पाठक संख्या

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन् ।


संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद दाहालले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्न समेत अप्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकता भन्दा बाहिर रहेको बताए ।

उनले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय नभएको बताए ।

‘मैले पशुपतिको जलहरीसँग सम्बन्धित विषयवस्तु उठान गरेको थिएँ । जतिबेला जलहरी लगाउने निर्णय सरकारले गरेको थियो । केपी ओलीको सरकारले गरेको थियो, त्यो निर्णय आफैँमा वस्तुगत थिएन । किनभने कोरोनाको महामारी चलिरहेको बेलामा जनता खान नपाएर छटपटाइरहेका थिए । २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय थिएन, मनोगत थियो,’ उनले भने, ‘अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम हुनुपर्छ । केपी ओलीले सुनको जलहरीमा आफ्नो नाम लेख्नु भएको छ । विद्या भण्डारीको नाम, भानुभक्त ढकालको नाम, लगायत धेरैको नाम लेख्नुभएको रहेछ । पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले लगाउनु भएको रहेछ ।’

सांसद दाहालले जलहरी प्रकरणबारे अख्तियारले सबै विषय बाहिर ल्याउनुपर्ने माग गरेका छन् । दाताहरूले दिएको पैसा कति छ ? त्यसको पनि विवरण सार्वजनिक गर्नुपर्ने भन्दै उनले थपे, ‘बदनियतपूर्ण ढंगले सुनको जलहरी राखिएको रहेछ ।’

नीति तथा कार्यक्रममाथिको संसद्को छलफलमा भाग लिने क्रममा सांसद दाहालले महालेखा परीक्षकको प्रतिवेदन उल्लेख गर्दै जलहरी प्रकरणबारे बोलेका थिए । त्यसको विरोधमा एमालेले संसद् अवरोध गरेपछि सभामुखले उक्त कुरा संसद्को रेकर्डबाट हटाउन लगाएका थिए ।