FLASH NEWS

पशुपतिको जलहरी आज पुनर्स्थापना गरिने, दर्शनार्थीलाई नरोकिने


नेपाल आवाज १३ असार २०८०, बुधबार ११:२३ मा प्रकाशित १७११ पाठक संख्या

काठमाडौं – गत आइतबार अनुसन्धान (नापजाँच)को लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज (बुधबार) अपराह्नपछि पुनर्स्थापना गरिने भएको छ ।


जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोसले जानकारी दिएको छ । यद्यपि मन्दिर परिसर भित्रको उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले धर्मावलम्बीहरूलाई जान दिएका छैनन् ।

गत आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।

जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो । जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन ।

सोमबार बिहान २ बजेसम्म लगाएर सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो। स्रोतका अनुसार यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।

त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो। त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ। यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुने बताइएको छ।

उजुरीको दुई वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।