FLASH NEWS

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस दही चिउरा खाएर मनाइँदै


नेपाल आवाज १५ असार २०८०, शुक्रबार १०:३३ मा प्रकाशित १४४१ पाठक संख्या

काठमाडौं – आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।


कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न आह्वान गरेका छन्।

धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले  जलवायु अनुकूलित धानका जातहरू र उत्पादन प्रविधिहरूको विकास र अबलम्बनमार्फत दीगो रूपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन् दिशामा योगदान गर्न आह्वान गरेका हुन्।

उनले देशमा धानको उत्पादन बढाउन सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम  समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरेको भएपनि धानको बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक  उत्पादन अपर्याप्त भएकाले धानचामल आयात वर्षेनी बढेको बताए।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको र यथास्थितिमा धानको उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन ने र यसले खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्ने देखिएको बताए।

‘त्यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझै व्यवस्थित बनाउने र  यसको गति बढाउन आवश्यक छ,’ शुभकामना सन्देशमार्फत प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

उनले धान दिवसका अवसरमा  धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रीत हुन देशवासीलाई अनुरोध गरेका छन्।