FLASH NEWS

कम्युनिष्टले मात्र जनतामा खुसी ल्याउन सक्छ, प्रचण्डजीले प्रयास गर्दै हुनुहुन्छ: माधव नेपाल


नेपाल आवाज १७ असार २०८०, आईतवार ११:२३ मा प्रकाशित १५४३ पाठक संख्या

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् ।


आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

उनले यी सबै कामको जिम्मेवारी कम्युनिष्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘ जनताको जीवनमा आमुल परिवर्तन गर्ने महत्वपूर्ण काम बाँकी छ । जनताको जीवनलाई सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने, जनतालाई वास्तवमा सबै हिसावले समानताको हिसावले, अवसरको हिसावले र शिर ठाडो पारेर हिँड्नसक्ने हिसावले समर्थ तुल्याउने यि सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ । त्यही कम्युनिष्ट पार्टीका नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौँ, पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाई गर्दै हुनुहुन्छ । उहाँले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो ? यसबारेमा अझै गम्भीर चिन्तनमनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्नसक्छ, के गरेर गरिबी, अभाव, बेरोजगारी पीडित जनताहरु, जनताका वेदना र दुःखलाई सम्बोधन गर्न सकिन्छ ? भन्ने सन्दर्भमा उहाँले आफ्नोतर्फबाट प्रयास गर्दै हुनुहुन्छ । हामी लागेका छौँ ।’

अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरुले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताए ।