FLASH NEWS

पहिरो हटाएसँगै १९ घण्टा पछी खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड


नेपाल आवाज १७ असार २०८०, आईतवार १८:०९ मा प्रकाशित १७५९ पाठक संख्या

चितवन – पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन खोला तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरो हटाएसँगै पाैने ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको हो ।


शनिवार राती ११ बजे देखी सडक पूर्ण रुपमा अवरुद्व थियो । पहिरो हटाएसँगै झण्डै १९ घण्टा देखी रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए।

यस सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरोको जोखिम उच्च छ ।

नारायणगढबाट मुग्लिनतर्फ १४ किलोमिटर, १५ किलोमिटर र १६ किलोमिटर,१७ किलोमिटरमा पहिरोको जोखिम छ । १८ किलोमिटरमा गत वर्षझै यसवर्ष पनि पहिरोको जोखिम देखिएको छ । २० किलोमिटर अर्थात् सेती दोभान र २१ दशमलव चार किलोमिटर मौरीपुल, २३ किलोमिटरको सिमलताल पनि पहिराको जोखिममा छन् । ३२ दशमलव चार किलोमिटरको नाम्सी पुल नजिक गत वर्षझै यस वर्ष पनि पहिरो खसेको छ । ३२ दशमलव ८ किलोमिटरको कालिखोलामा पहिरो जोखिम छ ।

सडकको माथिल्लो भागमा खोलिएका शाखा बाटो र भौगोलिक कारणले पहिराको जोखिम उच्च रहेको डिभिजन सडक कार्यालयका इञ्जिनियर सागर कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले वर्षात्को समयमा यो सडक जोखिमपूर्ण भएकाले सावधानीपूर्वक यात्रा गर्न,रातिको समयमा सकेसम्म यात्रा नगर्न, सडक लेनको पूर्ण पालना गर्न र पहिरो पन्छाउने टोलीसँग समन्वय गरेर मात्रै हिँड्न आग्रह गरेका छन्। यससँगै वैकल्पिक सडकमार्गको प्रयोग गर्न र पहिरो खसेको छ छैन यकिन गरेर मात्रै हिँड्न उनको सुझाव छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडकखण्डको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । ठाउँ ठाउँमा बारम्बार पहिलो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । यो सडकखण्ड हुँदै दैनिक औसतमा १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् ।