FLASH NEWS

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय


नेपाल आवाज १८ असार २०८०, सोमबार १८:२३ मा प्रकाशित १४११ पाठक संख्या

काठमाडौं-  सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेको छ ।


आज बालुवाटारमा बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णैय गरेको नेकपा एसका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ । त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सीट संख्या पनि उहाँहरुलाई नै पुर्याउने जिम्मेवारी दिएका छौं ।’

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ ।

कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पुर्याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।

एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।

नयाँ सरकारलाई लागि गठबन्धनमा पनि सहजै गणित पुग्ने अवस्था छैन । यहाँ गठबन्धनलाई सरकार गठनको लागि राप्रपाको साथ चाहिन्छ ।

देउवा र लिङ्देनबीच छलफल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कोशी प्रदेश सरकार गठनबारे छलफल भएको छ ।

लिङ्देननिकट एक नेताका अनुसार कोशी प्रदेश सरकार गठनबारे देउवा र लिङ्देनबीच पहिलो चरणको छलफल भएको हो।

उनले भने,‘अध्यक्ष ज्यूले कांग्रेस सभापति देउवालाई भेटेर कोशी प्रदेश सरकारमा सहभागी हुने नहुनेबारे छलफल गर्नुभएको हो। निर्णय हुन बाँकी छ। कति र कुन मन्त्रालय पाएको खण्डमा सरकारमा सहभागी हुने भनेर छलफल भएको छ।’

कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपा निर्णायक दल बनेको छ।