FLASH NEWS

संसदीय समितिको सभापति छिटो चयन गर्ने तीन दलबीच सहमति


नेपाल आवाज १९ असार २०८०, मंगलवार १३:४० मा प्रकाशित १५४९ पाठक संख्या

काठमाडौं – शीर्ष तीन दलका शीर्ष नेताहरूबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ।


मंगलबार सिंहदरबारमा बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरूबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताएका हुन्।

उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताए।

उनले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको पनि बताए।

उनले भने, ‘संसदीय गतिविधिलाई कसरी अलि प्रभावकारी, गतिशिल, स्तरीय बनाउने भन्नेबारेमा छलफल भयो। त्यसमा पनि लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ, त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ, त्यसमा सल्लाह सुझाव मागेँ, चुनाव गर् भन्नुहुन्छ की सहमति गर्नुहुन्छ, त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नुपर्नेछ भनेर भने। त्यसको लागि हो। मुलतः संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि छलफल भयो । उहाँहरु गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए।

राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको उनकाे भनाइ छ।

‘शीर्ष नेताहरूको बैठक बस्यो, मुख्य गरेर संसदीय समितिहरुको नेतृत्व जुन खालि भएर बसेको छ, त्यसमा छिटो भन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको छ। राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भयो’, मन्त्री गुरुङले भने।

गत वैशाख १५ गते प्रतिनिधिसभाका दशवटा विषयगत समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन। सभापति चयन हुन नसक्दा समितिमा पुगेका विधेयकमाथिको कारबाही अघि बढ्न सकेको छैन।

दशवटा विषयगत समिति र दुईवटा संयुक्त समिति हाल ज्येष्ठ सदस्यको सभापतित्वमा सञ्चालन भइरहेका छन्।