काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आदेशमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमले संविधान मिचेको आरोप लगाएका छन् ।
नेकपा एमालेनिकट अखिलको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनले सत्ता स्वार्थका लागि संविधान मिचेको आरोप लगाउँदै स्वार्थहरुको कित्ताकाट गरिरहेको बताएका हुन् ।
‘अहिले पनि संविधान लगातार मिच्ने कसैको बहुमत छैन बहुमत नभएका पार्टीहरू एक ठाउँमा मिलेर, स्वार्थ बाँडेर, देशका हितलाई चकनाचुर पारेर बर्थडेको केक काटेझैं राष्ट्रहका हितहरु काटकुट पारेर बाँडेर सत्ता बनाउने र टिकाउने घीनलाग्दो खेल खेलिरहेका छन्,’ अध्यक्ष ओलीले भने ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुखबाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद छन् ।
तर, सभामुख बाबुराम गौतमलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख परशुराम खापुङले हिजो बिहीबार साँझ मुख्यमन्त्री नियुक्त गरेका थिए ।
आज शुक्रबार बिहान उनले सपथग्रहण समेत गरिसकेका छन् ।
मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै नेकपा एमालेले नयाँ सरकारको बाटो खोल्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेको छ ।