FLASH NEWS

पोखरामा वनरक्षक पदमा अर्काको नाममा परीक्षा दिने तीन जना पक्राउ


नेपाल आवाज २३ असार २०८०, शनिबार १२:५१ मा प्रकाशित १७७७ पाठक संख्या

कास्की –  पोखरामा वन रक्षक पदको परीक्षामा अर्काको नाममा परीक्षा दिने तीन जना पक्राउ परेका छन् ।


असार २२ गते कास्कीको पोखरा महानगरपालिका–१५ फुलबारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परिसर भित्र सञ्चालन भई रहेको लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका तीन पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका– २ सिपखाना बस्ने १९ वर्षीय प्रेम भण्डारी, रास्कोट– ४ सिउना बस्ने २० वर्षीय गौरी संज्याल र १८ वर्षीय एक जना रहेका छन् ।

उनीहरुलाई परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामाआफ्नो तस्विर टाँसेर परीक्षामा सहभागी हुँदै गरेको अबस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।