FLASH NEWS

मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै प्रदर्शन


नेपाल आवाज २४ असार २०८०, आईतवार १७:१६ मा प्रकाशित ११११ पाठक संख्या

काठमाडौं – मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।


आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ ।

संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानून निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरुले कानून पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कारण मिटरब्याजी नियन्त्रणका लागि ल्याइएको अध्यादेश निष्क्रिय बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले मिटरब्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत रास्वपा र राप्रपाले संसद् अवरुद्ध पारेपछि मिटर ब्याजी नियन्त्रणका लागि ल्याइएको अध्यादेश निष्क्रिय बनेको थियो ।

उनीहरूले नियोजित रुपमा यससम्बन्धी कानूनलाइ निष्कृय पारेको भन्दै आफूहरूले न्याय नपाएसम्म घर नफर्किने जनाएका छन् ।