FLASH NEWS

‘वान एक्स बेट’मा पक्राउ परेका कलाकार र युट्युबर विरुद्ध मुद्दा दर्ता


नेपाल आवाज २५ असार २०८०, सोमबार १२:५९ मा प्रकाशित २०४१ पाठक संख्या

काठमाडौं – अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका कलाकार र युट्युबरहरूसहित ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।


सरकारी वकिलको कार्यालयले ११ जनाविरूद्व जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गरेको छ।

नेपालमा गैरकानुनी एप्लिकेशन वान एक्स बेटमा संलग्न रहेको आरोपमा प्युठान घर भई हाल काठमाडौंको कलंकी बस्ने २८ वर्षीय कलाकार बेगम नेपाली, गोरखा घर भई हाल काठमाडौंको बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, स्याङ्जा घर भई काठमाडौं नयाँ बजार बस्ने राजु पौडेल‘राजु मास्टर’,धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय पवन खतिवडा ‘म्याकुरी’, मोरङ घर भई हाल भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे, रोल्पा नगरपालिका ६ घर भई हाल कीर्तिपुर बस्ने  युट्युबर २४ वर्षीय जलन घर्तीमगर ,उदयपुर घर भई हाल ललितपुरको महालक्ष्मीथान बस्ने युट्युबर २८ वर्षीय एलिश राई,मुगु घर भई हाल ललितपुरको टीकाथली बस्ने १९ वर्षीय गणेश देवकोटा र मोरङको विराटनगर महानगरपालिका ४ का २४ वर्षीय कुशल पोखरेलविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रहरीले उनीहरू गत जेठ ३२ गते पक्राउ गरेको थियो। उनीहरूले वान एक्स बेटको प्रचार गरेर रकम लिएको आरोप छ। उनीहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप छ।

यस्तै, यो प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी पत्नी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ११ माइती भई लम्कीचुहा-१० की २९ वर्षीय अनिता धितालविरूद्ध पनि मुद्दा चलाइएको छ।

यस्तै दिनेश खड्का र अनिता धितालले क्रिप्टो करेन्सीको बित्तिय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टाबाजि गराउने गरेको र आफू उपरको प्रमाण दबाउने कार्य गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

उक्त कार्य नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २, मुलुकी अपराध संहिता २०७४ दफा १२५ को उपदफा (४) दफा ९३ को उपदफा (१) र दफा ४३ उपदफा (१) बमोजिमको कसुर भएको प्रमाणबाट पुष्टि भएको दाबी छ।

दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा (१) बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार यस अभियोगमा कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणा जरिवाना र ७ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

विज्ञापन नियमन ऐन २०७६ अनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सट्टाबाजीको कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

अभियुक्तहरुको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु हुनेछ। बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि उनीहरुलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ।