FLASH NEWS

सदन खुलाउने विषयमा सहमति खोज्न प्रधानमन्त्री प्रचण्ड र ओलीबीच वार्ता हुँदै


नेपाल आवाज २५ असार २०८०, सोमबार १३:३९ मा प्रकाशित ११६५ पाठक संख्या

काठमाडौं – संघीय संसद्‍का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच वार्ता हुने भएको छ।


आइतबार पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका थिए । तर, आइतबारको समझदारी केही घण्टामै भाँडिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको आशयसहितको विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद्‍मा अवरोध गरिरहेका छन्।

प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमालेले प्रचण्डले सदनमा आत्मालोचना गरे अघि बढ्न दिने भएको थियो । तर, ओलीले एमालेलाई लाञ्छना लगाइएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान राखेका थिए।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अहिले दुई जना शीर्ष नेता प्रचण्ड-ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता हुन लागेको हो।