FLASH NEWS

राष्ट्र र जनताको पक्षमा काम गरेरै देखाउनुपर्छ भन्नेबाहेक मसँग केही पनि छैन : प्रधानमन्त्री


नेपाल आवाज २५ असार २०८०, सोमबार १७:४७ मा प्रकाशित १२४३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयसम्म प्रधानमन्त्री हुन्छु भन्ने नभएको बताएका छन् ।


असार १८ गतेको अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिँदै उनले लामो समय प्रधानमन्त्री हुने अभिलाषा नरहेको र जतिञ्जेल भए पनि देश र जनताको पक्षमा काम गर्ने ध्येय रहेको दोहोर्‍याए।

‘प्रधानमन्त्री म दुईपटक भइसकेकै हो। तेस्रोपटक हुनुपर्ने अवस्था आइलाग्यो। प्रमुख प्रतिपक्षी र अरू प्रतिपक्षी अहिले भएका नेताहरू र अरू माननीयलाई थाहा छ म केही दिनको लागि मात्रै भए पनि ठीकै छ भन्ने तहमा थिए,’ उनले भने।

उनले केही कुरा नेपाल राष्ट्रलाई र नेपालीका अगाडि भन्नु र सुशासनको पक्षमा काम गर्नुपर्ने भएकाले प्रधानमन्त्री भएको बताए।
लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको पक्षमा र शान्ति प्रक्रिया टुंग्याउन आफू प्रधानमन्त्री भएका उनले बताए।

‘जनताले दिनदिनै भोगेका हैरानी, चाहे पासपोर्ट लिँदा होस्, चाहे लाइसेन्स बनाउँदा होस्, चाहे अरू सामान्य दैनिकीमा पाएका हैरानी चाहे अर्थतन्त्रमा देखिएको चापलाई कम पार्ने कुरामा म दस दिन प्रधानमन्त्री भए पनि म बल गर्छु भन्ने थियो,’ उनले भने।

उनले त्यतिबेला विश्वमा १०–१२ दिन प्रधानमन्त्री भएका व्यक्तिहरूका बारेमा पढेको बताए।

‘को-को, किन-किन दस/बाह्र दिनमात्रै प्रधानमन्त्री भएका रहेछन्, हाम्रो पनि ६, ९, १० महिना मात्रै प्रधानमन्त्री भएको श्रृंखलाबद्ध अनुभव त थियो। त्यसकारण धेरै वर्षलाई प्रधानमन्त्री हुन्छु भन्ने त्यतिबेला पनि थिएन, अहिले पनि छैन,’ उनले भने।

उनले आफु प्रधानमन्त्रीमा जतिदिनसम्म रहने पनि राष्ट्र र जनताको पक्षमा काम गर्ने बताए । ‘म जतिदिनसम्म प्रधानमन्त्री हुन्छु यो पटक राष्ट्र र जनताको पक्षमा काम गरेरै देखाउनुपर्छ भन्नेबाहेक म संग केही पनि छैन । मैले अब के गर्नु छ ? मैले अब गर्नुपर्ने बाँकी के नै छ र मेरो ?’, उनले प्रश्न गरे ।