FLASH NEWS

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइयो


नेपाल आवाज २६ असार २०८०, मंगलवार १८:३३ मा प्रकाशित १३५७ पाठक संख्या

काठमाडौं – मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।


त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार साढे ५ बजे अल्टिच्युट एयरको हेलिकप्टरमार्फत सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको हो। शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

मंगलबार बिहान सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिका- ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका थिए ।

काठमाडौंका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो । सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको मृत्यु भएको छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् । हेलिकाेप्टर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए।