FLASH NEWS

एसीसी इमर्जिङ टिम्स कप : नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १६:४८ मा प्रकाशित ९४९ पाठक संख्या

काठमाडौं – एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै नेपालले दिएको १८० रनको लक्ष्य भेट्टाएको हो।


पाकिस्तानका लागि मोहम्मद तय्यब ताहिरले सर्वाधिक ५१ रन बनाए । ६७ बल सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै ओमार बिन युसुफले ३६ रन बनाउँदा कमरन गुलामले ३१ रन बनाए । सायम आयुबले २४ रन जोडे । नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस जितेर श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

१० ओभरमै ४३/६ को स्थितिमा रहेको नेपालका लागि नवौं नम्बरमा आएका ब्याटर सोमपाल कामीले अर्धशतक पारी खेलेपछि नेपालको स्कोर बढेको हो ।

७२/८ को अवस्थाबाट सोमपाले नेपालको ब्याटिङ सम्हालेका थिए । उनले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाए ।

नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले १ रन मात्र बनाएर आउट भए । त्यस्तै आरिफ शेखले १२ रन बनाउँदा अर्जुन साउदले १७ रन बनाए । कप्तान रोहित पौडेल पनि सस्तैमा आउट भए । ४ बल सामना गरेका उनी ४ रनमै आउट भए । भीम सार्की रनको खाता नखोली पेभेलियन फर्किए । पवन सर्राफ पनि १ रनमै आउट भए ।

प्रतिश जीसी र सोमपाल कामीको ५८ रनको साझेदारीपछि नेपालको स्कोर उकासिएको हो । प्रतिशले २६ रन बनाए । नेपालका लागि आसिफ शेख र कुशल मल्लले १७/१७ रन बनाए । श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले पहिलो १० ओभरमै ६ विकेट गुमाएको थियो ।

पाकिस्तान ‘ए’ का लागि साहनवाज दहनीले ५ र मोहम्मद वासिमले ४ विकेट लिए ।

जितसँगै पाकिस्तान ए समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।