FLASH NEWS

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १६:५४ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।


नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए ।

भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

‘भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भयो । अमेरिकी सरकारप्रति आभारी छु,’ देउवालाई उदृत गर्दै उनको सचिवालयले भनेको छ ।

उनले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा उनले अमेरिकी दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने बताइएको छ।

लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ।

उनले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न गरेका प्रयासबारे पनि बुझ्ने छन्।

उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए। गत वर्ष संसद्‍बाट पास भएको एमसीसी परियोजना कार्यान्वयनको समय नजिकिँदै गर्दा अमेरिकाले उच्चस्तरीय भ्रमण फेरि थालेको हो।