FLASH NEWS

लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छः ओली


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १७:४९ मा प्रकाशित १०५१ पाठक संख्या

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताएका छन्।


शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कतिपय गरिबीको रेखामुनि रहेका नागरिकहरुले आधारभूत अधिकारसमेत नपाइरहेको बताए। उनले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताए।

अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताए।उनले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने उल्लेख गरे।

उनले भने, ‘लोकतन्त्र, आचरण, व्यवहार, जीवनपद्धति, राज्यको शैलीमा, राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र । साइन बोर्डमा, प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन । तसर्थ आज पनि मानव अधिकारका निम्ति प्रयास गर्नुपर्ने जरुरी छ । एउटा हामी हरेकले प्रयास गर्नुपर्ने छ र अर्को सरकारलाई भन्नुपर्ने छ । हामी जो जहाँ छाँै, त्यहाँबाट प्रयास गर्नुपर्छ । अर्को सरकारलाई हामीले भन्नुपर्ने, देखाउनुपर्ने, दबाब दिनुपर्ने अवस्था छ, जब निरपेक्ष गरिबीको रेखामुनि अहिले पनि ठूलो प्रतिशतको जनसंख्या छ । निरपेक्ष गरिबीको रेखामुनि ।

अहिले पनि देशमा भोकमरीको स्थिति छ । निरपेक्ष गरिबीको रेखामुनी र बहुआयामिक गरिबीको रेखामुनी एउटा ठूलै हिस्सा समाजको अहिले पनि छँदै छ भने मानव भएर बाँच्न पाउने आधारभुत अधिकार प्राप्ति नै भएको छैन । आधारभुत अधिकार नै प्राप्त भएको छैन भने अरु अधिकार कहाँबाट आउँछ । घरको जग नै बनेको छैन भने माथिल्लो तला कसरी बन्छ ? मानव अधिकारको जग नै कमजोर छ । मानिसले बाँच्न पाउने अधिकार हो । बाँच्न पाउने खान पाउने अधिकारबाट मानव अधिकार शुरु हुन्छ ।’

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनी ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरुलाई आधारभुत अधिकार दिलाउनुपर्ने बताए।