FLASH NEWS

भ्रष्टाचारविरूद्वको अभियानमा सरकारलाई साथ दिन हामी तयार छौं: रवि लामिछाने


नेपाल आवाज ३० असार २०८०, शनिबार १३:२९ मा प्रकाशित १०९९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भ्रष्टाचारविरूद्वको अभियानमा सरकारलाई साथ दिन आफूहरू तयार रहेको बताएका छन् ।


शनिबार रास्वपा बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीलाई दरो खुट्टा टेक्ने सुझाव दिँदै भ्रष्टाचारको अन्त्य गर्नका लागि साथ चाहिएमा रास्वपा छेउमै रहेको भन्दै बोलाए मात्रै पुग्ने बताएका हुन् ।

‘सरकारले दरो खुट्टा टेकोस् प्रधानमन्त्रीको खुट्टा दरो होस्, गृहमन्त्रीको खुट्टा दरो होस् । भ्रष्टाचारको अन्त्य गर्नका लागि साथ चाहिएमा रास्वपा त्यहीँ छेउमा बसेको छ । एकपटक बोलाए मात्रै हुन्छ । भ्रष्टाचारको कुनै पनि कालखण्डको फाइल खोल्न साथ सहयोग चाहिएको खण्डमा हामी छेउमै छौँ । प्रतिपक्षीको बेन्चमा बसेर पनि बेथिति अन्त्यका लागि नि:शर्त नि:स्वार्थ रास्वपा सहयोग गर्न तयार छ,’ लामिछानेले भने ।

उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरुआत गरेको छ । त्यो फाइल खोल्नु र चलाउनु फरक कुरा हो । चलाएको मात्र हो खबरदार खोलेको हो भने स्याबास । हामी छौँ कसैलाई पनि नछोड्नु । सानातिनालाई समाएजस्तो गरेर तर्साएजस्तो नहोस् । कसैलाई तर्साएर सरकार र सत्ता टिकाउने भाँडो मात्रै नबनोस् भ्रष्टाचारको फाइल ।’

लामिछानेले रास्वपा राजनीतिमा आएपछि भ्रष्टाचारीहरू डराएका दाबी गरे । उनले शक्तिको आडमा केही मानिसहरू बच्ने र निर्दोष फस्ने काम नहोस् भन्नेमा सचेत गराए ।

यस्तै उनले रास्वपामा भ्रातृ संगठन नभएको बताए। उनले भने, ‘हामी जनताको भारी मात्र बोक्ने हो । हामीले कसैलाई जागिर लगाउनु पर्दैन हामीले कसैलाई टेण्डर पार्नुपर्ने छैन । हाम जनताको मुद्दामा निस्वार्थ अघि बढ्छौँ।’