FLASH NEWS

जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आजदेखि


नेपाल आवाज ३१ असार २०८०, आईतवार १०:४४ मा प्रकाशित ९६१ पाठक संख्या

काठमाडौं – आजदेखि जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा नगरपालिकाको विजलपुरसम्म रेल सञ्चालन हुने भएको हो ।


झण्डै २४ वर्ष अघि महोत्तरीको बिग्ही नदीमा रहेको रेलको पुल बाढीमा क्षतिग्रस्त भएपछि सेवा बन्द भएको थियो ।

भारतमा शासक रहेको अंग्रेजले महोत्तरीको जंगलबाट साखुको काठ ढुवानीका लागि सञ्चालन गरेको रेल भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरा सम्मको ५१ किलोमिटर दूरीमा सञ्चालन गरिएको थियो । रेल सेवा थप १७ किलोमिटर दूरीमा सञ्चालनका लागि शुभारम्भ गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दिनुभयो ।

जयनगरबाट जनकपुरधामको कुर्थासम्म गत ०७८ चैत २० गतेदेखि ३५ किलो मिटरमा रेल सञ्चालन हुँदै आएको छ । यसअघि न्यारोगेज रेल्वे पनि विजलपुरसम्म सञ्चालनमा थियो । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछन् । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए । अब महोत्तरीको बिजलपुराबाट विहान ७ः३० बजे रेल जयनगरका लागि खुल्नेछ ।

जयनगर हुँदै जनकपुरधामबाट साँझमा बिजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । कुर्थादेखि बिजलपुरासम्म दुईवटा स्टेशन र दुईवटा हल्ट छन् । अहिले पुरानै जनशक्तिलाई व्यवस्थापन गरी सेवा विस्तार गरिएको उनले बताए । एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । वि।सं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।

जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । रेलवे सञ्चालनको १५ महिना बितिसक्दा पनि मालवाहक बोगी जोडिएको छैन् ।