FLASH NEWS

छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउन गृहमन्त्रीकाे निर्देशन


नेपाल आवाज ३१ असार २०८०, आईतवार १२:३२ मा प्रकाशित ८८३ पाठक संख्या

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन्।


आइतबार सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबिच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

गृहमन्त्री श्रेष्ठले आन्तरिक रूपमा सरकारी सङ्गठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए । उनले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताएका छन् ।

मन्त्री श्रेष्ठले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन समेत दिए।

उनले भने, ‘हाम्रो गृह मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, सशस्त्र प्रहरी बल,नेपाल, राष्ट्रिय अनुसन्धान वा अरुपनि सरकारका कर्मचारी संयन्त्रदेखि लिएर सबै ठाउँमा हामीले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढङ्गले काम गर्ने कसरी बनाउने ? र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? । विधिको पालना, संस्थागत काममा, आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरी स्वच्छ कसरी बनाउने ? र जनमुखी अभिमुखीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान नदिकन जनतालाई जनताको क्षेत्रमा,देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी सहजतापूर्वक छिटो उपलब्ध गराउने काम वा आफूलाई दिएको जिम्मेवारी जनताको पक्षमा सम्पन्न गर्ने काम त्यति प्रभावकारी हुन सक्दैन भन्ने हाम्रो अनुभूति छ ।’

उनले थप भने, ‘डेलिभरी छिटो र सहज ढङ्गबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।’ मन्त्री श्रेष्ठले कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाई काम गर्न भनेर परिणामको मात्रै अपेक्षा गर्न नहुने उल्लेख गरे ।