FLASH NEWS

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा व्यापक धार्मिक पदयात्रा


नेपाल आवाज १ श्रावण २०८०, सोमबार १५:५२ मा प्रकाशित ६७५७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गरेको छ । राप्रपाका नेता कार्यकर्ता सोमबार मैतीदेवी मन्दिरमा भेला भएर कलशसहित पशुपति मन्दिरसम्म धार्मिक पदयात्रा गरेका हुन् ।


पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, दिपकबहादुर सिंह लगायतका नेता कार्यकर्ताका साथै शुभेच्छुक र समर्थक,धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समुह,संस्थाहरु सहभागी थिए ।

राप्रपाले गत वर्षदेखि साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको हो । आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दूराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियान अन्तरगत धार्मिक पदयात्रा गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि धार्मिक पदयात्रा गरेको बताए।

लिङदेनले सनातन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उदेश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए।

उनले शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको बताए। उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गरे।

राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनमा पदयात्रा गरिएको हो । संगठनका अध्यक्ष पुष्पराज पुरुषले हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनमत सिर्जना गर्न धार्मिक यात्रा गरिएको बताए ।