FLASH NEWS

नक्कली मुद्रा र सुनसहित २ जना पक्राउ


नेपाल आवाज २ श्रावण २०८०, मंगलवार १८:५० मा प्रकाशित ९५५ पाठक संख्या

काठमाडौं – नेपाली तथा भारतीय नक्कली मुद्रा र नक्कली सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गोरखा आरुघाट गाउँपालिका–१० का ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारत लखनउ घर भई काठमाडौं–१० बस्ने ४५ वर्षीय विनयकुमार सिंह छन् ।


काठमाडौं महानगरपालिका-३ बसुन्धारा क्षेत्रका विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले शनिबार भारतीय नागरिक सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिंह पक्राउ परेपछि थप अनुसन्धानका लागि काठमाडौं नागार्जुन नगरपालिका–२ सानोभर्‍याङस्थित क्षेत्रीलाई नक्कली सुनसहित पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले बताए ।

प्रहरीले भारतीय नक्कली नोट २ हजार दरको ४ थान, ५ सय दरको ४ थान र नेपाली नक्कली नोट १ हजार दरको नोट ६ थान, १ किलो फाइनगोल्ड लेखिएको सुनजस्तो देखिने धातु २ थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुन जस्तो पहेलो धातु राखिएको प्याकेट २ सय थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुनजस्तो पहेलो धातुको टुक्रा २० थान, टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १ सय थान, लेमिनेशन मेसिन १ थान, मोटरसाइकल १ थान र मोबाइल २ थान बरामद गरेको छ ।

उनीहरूविरुद्ध मुद्रासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमिति लिई प्रहरी वृत्त महाराजगन्जबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।