आज: | Mon, 04, Dec, 2023
FLASH NEWS

एक क्वीन्टल सुन प्रकरण: तिब्बती मुलका भारतीय नागरिकको लाजिम्पाटस्थित फ्ल्याटमा छापा


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार २२:२६ मा प्रकाशित ११५९ पाठक संख्या

काठमाडौं – राजश्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलको सहयोगमा बिहीबार बेलुकी लाजिम्पाटस्थित कम्फर्ट हाउजिङको एक फ्ल्याटमा छापा मारेको छ ।

यो फ्ल्याटमा तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ बस्दै आएका थिए । विभागले छिरिङलाई बुधबार नै पक्राउ गरेको थियो ।

विभागका अधिकारीहरुका अनुसार, हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र राखेर ल्याइएको सुन भारतर्फ लैजान लागिएको थियो । त्यसमा उनको संलग्नता रहेको हुनसक्ने आशंका छ ।

बिहीबार राति उनको फ्ल्याटमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरिएको विभाग स्रोतले बताएको छ । यसअघि बालुवाटारस्थित एक घरमा चिनियाँ तस्करले सुन राख्ने गोदाममा पनि विभागले छापा मारेको थियो । त्यसक्रममा ५/६ वटा पोका फेला परेको छ । ती सामग्री र कोठालाई विभागले शिल गरेर थप अनुसन्धान गरिरहेको छ ।

राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ। विभागबाट खटिएको टोलीले बिहीबार(४ असार) साँझसम्म यस प्रकरणमा संलग्न भारतीय र चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ गरेको छ।

काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन्।

पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ। अहिलेसम्म कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भइसकेको छ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।

यी हुन बिहीबार पक्राउ परेकाहरूः

१) जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२) थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३) रामकुमार भुजेल (दोलखा)
४) दीलिप भुजेल (दोलखा)
५) हर्कराज राई (भोजपुर)
६) अशोक लामा (ट्याक्सी चालक)
७) राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०) राजेन्द्र राई (भन्सार एजेन्ट)