FLASH NEWS

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै मसाल जुलुस


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार १९:२६ मा प्रकाशित १०३९ पाठक संख्या

काठमाडौं –  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै नेकपा एमालेको भातृ संगठन युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ ।


तस्करी भएर आएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उनीहरुको भनाइ छ । काठमाडौंको माइतीघर मण्डलामा संघले विभिन्न प्लेकार्डसहित नाराबाजी गर्दै मसाल जुलुश प्रदर्शनमा सहभागीले सुन तस्करीमा संलग्नलाई पक्राउ गर्न माग गरेका थिए ।

उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै ‘सुन तस्करलाई फाँसी दे’, ‘सुनको रह्यो ब्रेक सु, तस्करीमा गृहमन्त्रीकै ब्रेक थ्रु’, ‘सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर,’ ‘सर्वसाधारणलाई सियो ल्याउँदा पिर्‍यो, तस्करीको सुन कसरी छिर्‍यो’, ‘सर्वसाधारणलाई कचकच, तस्कर रजगज’, ‘सुन तस्करलाई पक्राउ गर’ जस्ता नारा लगाएका थिए । प्रदर्शनमा प्रेस चौतारी नेपालले पनि ऐक्यवद्धता जनाउँदै सहभागी बनेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ ।

क्याथे प्यासेफिकको उडान मार्फत आएको ‘सुन’ मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ । सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।