FLASH NEWS

एमाले अध्यक्ष ओलीले गरे कम्बोडियाको चुनाव पर्यवेक्षण


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार २१:२४ मा प्रकाशित ११६५ पाठक संख्या

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचन पर्यवेक्षण गरेका छन्।


अध्यक्ष ओली सहभागी रहेको टोलीले चुनावको पर्यवेक्षण गरेको हो। ओलीको सचिवालयले बताएअनुसार उनले पर्यवेक्षण गरेका निर्वाचन केन्द्रहरूमा शान्त रूपमा निर्वाचन भएको थियो।

९७ लाख १० हजार ६६५ मतदाताले १२५ जना विधायक चुन्ने कम्बोडियाको निर्वाचनमा ३३४ जना विदेशी पर्यवेक्षक थिए।

कम्बोडियाको निर्वाचनमा देशभर २३ हजार ७८९ मतदान केन्द्रहरू छन्। तीमध्ये ओली सहभागी टोलीले दुई वटा निर्वाचन केन्द्रको पर्यवेक्षण गरेको थियो।

अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच शनिवार भेटवार्ता  भएको थियो । ओलीसँगै विभिन्न देशका २२ वरिष्ठ राजनीतिज्ञ अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । सो अवसरमा अध्यक्ष ओलीले विभिन्न राष्ट्रका विशिष्ट राजनीतिज्ञसँग पनि भेटवार्ता गरेका छन् ।

निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानी र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलक,श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनासँग पनि अध्यक्ष ओलीले शिष्टाचार भेटघाट गरेका थिए।

अध्यक्ष ओलीले कम्बोडियामा शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गरे । गत बिहीबार राति कम्बोडिया गएको नेपाली डेलिगेसनमा एमाले उपमहासचिव विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, पूर्वसांसद एकनाथ ढकाललगायत सहभागी थिए।

प्रधानमन्त्री रहेका बेलामा पनि ओलीले कम्बोडिया भ्रमण गरेका थिए। उनले २०७६ वैशाख ३० देखि जेठ १ सम्म कम्बोडिया भ्रमण गरेका थिए।

अध्यक्ष ओली मंगलबार साँझ नेपाल फर्किने कार्यक्रम छ।