FLASH NEWS

देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको छ : शेखर काेइराला


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार १९:३५ मा प्रकाशित १०७५ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर काेइरालाले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताएका छन् ।


बीपीको ४१ औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए पार्टीको औचित्य समाप्त हुने बताए ।

नेता कोइरालाले राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको बताए । उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए ।

उनले भने, ‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जताहेर्यो, जसरी हेर्यो, जहाँ हेर्यो त्यहीँ भ्रष्टाचार देखिन्छ । यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको हिसाबले हामी अगाडि बढ्नै पर्छ । नत्रभने नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ भन्नेकुरा तपाईँहरूलाई भन्न चाहन्छु । दण्डहीनताको अन्त्य हामीले सकिराखेका छैनौँ । राज्य नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको छ । हुँदाहुँदै कानुन नै हामीहरू यस्तो बनाउन खोज्दैछौँ, जुन कानुन फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरूलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने । यस्ता कुराहरूले हामीहरूको छवि, भ्रष्टाचार र दण्डहीनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु । भुटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरूले आफ्नो अनुहार कसरी देखाउने ? यो कुराहरूलाई शून्य सहनशीलताको रूप लिएर नेपाली काँग्रेस यो केन्द्रीय समितिपछि पक्कै पनि हामीहरू अगाडि बढ्छौँ भन्नेकुरा तपाईँहरूको माझ राख्न चाहन्छु ।’

उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास पनि व्यक्त गरे ।