FLASH NEWS

बागलुङ घटना: वरिष्ठ सईको हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १५:२४ मा प्रकाशित १४७१ पाठक संख्या

बागलुङ – जिल्लाको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएका वरिष्ठ सईको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।


सोमबार बिहान इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) उज्जल पौडेल आशा होटलको तल्लो तलामा पर्दाको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

मृत भेटिएका पौडेलको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।

‘टाउको र छातीमा कुटपिट गरेर बेहोस बनाएपछि कपडाले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा होटल संचालिका ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पक्राउ गरेको छ । होटलमा खाजा खान गएका बेला सई पौडेल र होटल संचालिकाको आमा–छोरासँग विवाद हुँदा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

राति साढे ११ बजे हत्या गरेपछि उनीहरुले घाँटीमा लगाएको सिक्री समेत लगेको खुलेको छ। उक्त सिक्री प्रहरीले किचन र्‍याकबाट बरामद गरेको छ।

हत्याको आशंकामा प्रहरीले आशा र बिनोदलाई पक्राउ गरेको थियो। सोधपुछका क्रममा संलग्नता पुष्टि भएपछि बुधबार म्याद थपका लागि जिल्ला अदालत लगिएको छ।